धरान: सुनसरीको पश्चिम कुसाहामा सशस्त्र प्रहरी वलको युनिट छ । त्यहाँ १६ जना सशस्त्र प्रहरीको टोली कार्यरत छ ।

त्यही टोलीमा कार्यरत एक जनामा स्वास्थ्य समस्या आयो । अहिले सबैतिर कोरोनाको जोखिम छ । अझ सुरक्षाकर्मीहरु फ्रन्टलाइनमा खटिएकोले संक्रमणको जोखिम धेरै छ । त्यसैले पनि पश्चिम कुसाहा युनिटले स्वास्थ्य समस्या देखिएकोलाई धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जाँच गर्न पठायो । उनलाई लिएर सोही युनिटमा कार्यरत सशस्त्रका एक हवल्दार वीपी आएका थिए । वीपीमा आएपछि स्वास्थ्यमा समस्या भएका र उनलाई लिएर आएका हवल्दार दुवैको परीक्षणको लागि स्वाब लिइयो ।

आज ती दुवैको स्वाब परीक्षणको रिपोर्ट आइसकेको छ । रिपोर्टले भने सशस्त्र प्रहरीको युनिटलाई आश्चर्यमा मात्र पारेन, उनीहरुले पत्याउनै सकिरहेका छैनन् । जसलाई संक्रमणको आशंका गरिएको थियो, उसको चै रिपोर्ट नेगेटिभ आयो, अर्थात उनी संक्रमित छैनन् । तर, जो स्वास्थ्य छन्, र विरामी भएका साथीलाई लिएर वीपी आएका थिए, उनको रिपोर्ट चै पोजेटिभ आयो अर्थात उनी कोरोना संक्रमित भएको पुष्टि भयो । ‘हामी सबै आश्चार्यमा परेका छौं, जसलाई शंका गरेको उसको रिपोर्ट चै नेगेटिभ आयो,’इनरुवास्थित सशस्त्र प्रहरी वल नम्बर ४ गणका डिएसपी वालकृष्ण श्रेष्ठले भने,‘लक्षण केही छैन । फिट एन फाइन छ । उसले पनि मेरो रिपोर्ट होइन होला भन्छ ।’

डिएसपी श्रेष्ठका अनुसार उनलाई अहिले विराटनगर कोभिड १९ अस्पताल पठाउने तयारी भइरहेको छ भने पश्चिम कुसाहा युनिटमा कार्यरत अन्य १४ जनाको पनि स्वाबको नमुना संकलन गरिने भएको छ । नमुना संकलन गर्न जनस्वास्थ्य कार्यालयको टोली पश्चिम कुसाहा जाने पनि उनले जानकारी दिए ।