धरान: सुनसरीको गढीगाउँपालिकाका कोरोना संक्रमित युवासँगै दिल्लीबाट आएका धरानका एक युवाको पिसिआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ ।

धरान २० का ती युवा फुस्रेस्थित सैनिक आवासिय महाविद्यालयको क्वारेन्टाइनमा छन् । उनीसँगै त्यहाँ कुल ७ जना क्वारेन्टाइनमा रहेका छन् । उनीहरुको पिसिआर परीक्षणको लागि हिजो स्वाब संकलन गरिएको थियो । सबैको स्वाबको परीक्षण वीपी प्रतिष्ठानस्थित ल्याबमा भएको हो । ती सातै जनाको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए । ‘दिल्लीबाट हिडेर आएका युवासहित ७ जनाकै पिसिआर रिपोर्ट नेगेटिभ आएको छ,’मेहताले भने ।

धरान २० का युवा गढी गाउँपालिकाका ५ युवाहरुसँगै दिल्लीबाट हिडेर १३ दिनमा जोगवनी बोर्डरसम्म आइपुगेका थिए । गढी वडा नं १ स्थित विद्यालयमा क्वारेन्टाइनमा बसेका ५ जनको परीक्षण गर्दा १ जनामा संक्रमण पुष्टि भएको थियो । त्यसैले धरानका ती युवा पनि कतै संक्रमित छन् कि ? भन्ने आशंका थियो ।