धरान: झापामा हिजो कोरोना संक्रमित पुष्टि भएका २७ जना व्यक्तिलाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले राख्न नमान्दा रातभरि अस्पताल बाहिरै बस्नु परेको छ ।

यो घटना सार्वजनिक भएपछि अहिले प्रदेश सरकारका सामाजिक विकास मन्त्री जीवन घिमिरे वीपी प्रतिष्ठान आएका छन् । हिजो साँझ ६ बजेतिर झापाका संक्रमितहरुलाई वीपी ल्याइएको थियो । तर, समन्वय नगरी पठाएको भन्दै वीपीले ती संक्रमितहरुलाई अस्पतालमा नराखेको बताइएको छ ।

सरकारले वीपी प्रतिष्ठानलाई लेभल थ्रीको अस्पतालमा वर्गीकृत गरेको छ । सय बेडको कोडिभ १९ अस्पताल पनि तयार गरेको जनाएको छ भने ७० बेडभन्दा बढी आइसोलेसन वार्ड भएको दाबी प्रतिष्ठानको छ । प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले अन्य सामान्य विरामीजस्तो नभएकोले अन्यत्रबाट पठाउदा राम्रो समन्वय हुनुपर्ने बताए । ‘समन्वयको अभाव पनि भयो, यो अन्य विरामी जस्तो हुन्न,’उनले भने,‘तर अहिले सबै तयारी गरेर अबको ५, १० मिनेटभित्र राख्ने तयारी भइसकेको छ ।’