धरान: सुनसरी उद्योग वाणिज्य संघले अर्थमन्त्री डा.युवराज खतिवडालाई ध्यानाकर्षण पत्र पठाउदै कर विवरण तथा कर बुझाउने म्याद थप गर्न आग्रह गरेको छ ।

संघका अध्यक्ष गिरीधारी सापकोटाले आज अर्थमन्त्री डा. खतिवडालाई ध्यानाकर्षण पत्र पठाउदै यस्तो आग्रह गरेका हुन् । आन्तरिक राजश्व विभागले जेठ २५ गतेदेखि ३२ सम्म कर बुझाउने समय तोकेको छ । तर, लकडाउन जेठ ३२ गतेसम्म भएकोले यो अवधिमा कर विवरण तथा कर बुझाउन नसक्ने भन्दै संघले म्याद थप गर्न आग्रह गरेको हो । ‘सरकारले जेठ २५ गतेसम्म कर बुझाउन भन्यो । तर, जेठ ३२ गतेसम्म लकडाउन छ, यो अवधिमा कसरी बुझाउने ?’अध्यक्ष सापकोटाले भने,‘त्यसैले असार मसान्तसम्म म्याद थपिदिनुपर्छ, र जरिवाना लिनु भएन भन्ने हाम्रो आग्रह हो ।’

संघका अनुसार आन्तरिक राजश्व विभागले जेठ २५ देखि ३२ गतेसम्म आयकर, मुल्य अभिवृद्धि कर, अन्तःशुल्क विवरण र कर रकम बुझाउने म्याद तोकेको छ । लकडाउनले व्यापार, व्यवसाय ठप्प भएको बेला विभागको यो सुचनाले उद्योगी, व्यवसायीहरु थप आक्रान्त र हतोत्साहित भएको संघको भनाई छ । ‘लकडाउनको समयमा घरबाहिर निस्कने अनुकुल अवस्था पनि नरहेको हुँदा कसरी कर रकम र विवरण बुझाउने ?’ध्यानाकर्षण पत्रमा उल्लेख छ ।