धरान: नदीजन्य पदार्थको उत्खनन् गर्न धरानको खोलाहरु ठेक्का लगाउदा हरेक बर्ष झमेला हुने गरेको छ । सेटिङमा न्युन रकममा ठेक्का लगाएको तथा ठेक्का लगाएको भन्दा बढी उत्खनन् गर्दा पनि उपमहानगरपालिका चुप बसेको जस्ता आरोप लाग्दै आएको हो ।

यसपाली भने खोला उत्खनन्मा धरान उपमहानगरपालिकाले नयाँ अभ्यास थाल्ने भएको छ । लकडाउनको कारणले खोलाहरु ठेक्का लाग्न नसकेको र आर्थिक बर्ष पनि सकिनै लागेपछि उपमहानगरपालिका आफैले खोला उत्खनन् गर्ने निर्णय गरेको हो । धरानको सेहरा, सर्दु र पटनाली खोला ठेक्का लाग्न नसकेपछि उपमहानगर आफैले उत्खनन् गर्ने तयारी गरेको हो । यसको लागि ७ सदस्यीय अनुगमन समिति पनि कार्यपालिका बैठकले बनाएको छ ।

हिजो सम्पन्न बैठकले खोलाको व्यवस्थापन, सहजीकरण र अनुगमनको लागि वडा नं १५ को अध्यक्ष नरेश इवारम संयोजक रहने गरि ७ सदस्यीय समिति गठन गरेको थियो । समितिमा वडा ५, ६, १७ का अध्यक्षहरु पनि छन् भने वातावरण महाशाखा, राजश्व महाशाखा र नगर प्रहरी इकाई पनि सदस्य छन् ।
राजश्व तथा सुचना अधिकृत खगेन्द्र खतिवडाका अनुसार उपमहानगर आफैले खोला उत्खनन् गर्ने भएकोले व्यवस्थापन, सहजीकरण र अनुगमन गर्न यो समिति गठन भएको हो । ‘ठेक्का लागेन, र अब धेरै दिन छैन । त्यसैले सिधै नगरपालिकाले उत्खनन गर्ने र बिक्री गर्ने निर्णय भएको हो,’अधिकृत खतिवडाले भने,‘बिक्री नभएको नदीजन्य पदार्थ स्टक राखिनेछ ।’

विकास निर्माण कार्यमा गिट्टीढुंगालगायत पदार्थ उपमहानगरपालिका आफैलाई आवश्यक पर्छ । आर्थिक बर्ष सकिन लाग्दा अहिले सडक, ड्रेनलगायत अन्य भौतिक संरचना निर्माणको कामहरु धमाधम भइरहेको छ । यसअघि, सेहरा, सर्दु र पटनाली खोलाको ठेक्का माघमा खुलेको थियो । ठेक्का पाएको कम्पनीले सम्झौता गर्नुअगावै लकडाउन भएपनि करिब ३ करोडको ठेक्का रद्द गरिएको थियो । त्यसअघि नै सेउती र अधेरी खोला भने ठेक्का लागेर उत्खनन् भइरहेको छ ।