धरान: प्रदेश १ को चर्चित पर्यटकीयस्थल भेडेटारका होटल व्यवसायीहरु सरकारले खोल्ने अनुमति नदिए आफै होटल सञ्चालन गर्ने तयारीमा जुटेका छन् ।

केही दिनयता भेडेटारका होटल एवं पर्यटन व्यवसायीहरु निरन्तर छलफलमा छन् । सरकारले राहतको प्याकेज पनि नल्याएको साथै ८० दिनसम्म व्यवसाय ठप्प हुँदा धेरै समस्या भएकोले सञ्चालन गर्नेबारे छलफल भइरहेको होटल एशोसिएशन भेडेटारले जनाएको छ । सरकारले जेठ ३२ गतेसम्म लकडाउन घोषणा गरेकोले त्यसपछि के निर्णय गर्छ भनेर प्रतिक्षामा बसेको अध्यक्ष जितेन्द्र रुम्दालीले बताए ।

तर, सरकारले खोल्ने निर्णय नगरेपनि अब व्यवासायी भने सहने अवस्थामा नभएको उनले बताए । ‘हामीले छलफल गर्यौं, अब बन्द गरेर यसरी बस्न सकिदैन भन्ने निष्कर्षमा पुगेका छौं,’उनले भने,‘३२ गतेसम्म लकडाउन भएकोले पर्खने तर सरकारले नखोले पनि हामी सबै तयारी भएर बस्ने र सञ्चालन गर्ने तयारीमा छौं ।’

अध्यक्ष रुम्दालीका अनुसार व्यवसायीहरुले आफु पनि सुरक्षित हुने र कर्मचारीलाई पनि सुरक्षित राख्नेबारे छलफल भएको छ । त्यसको लागि कर्मचारीहरुको समय समयमा स्वास्थ्य परीक्षण गराउने र अनिवार्य माक्स, पञ्चा, टोपी लगाएर सेवा दिनेबारे छलफल भएको छ । ‘होटल प्रवेशद्धारमा अनिवार्य साबुन पानीले हातधुने वा सेनिटाइजर प्रयोग गर्ने व्यवस्था गरिनेछ,’अध्यक्ष रुम्दालीले भने,‘एक भन्दा बढी ग्राहक आएमा सामाजिक दुरी कायम गराएर सेवा दिइनेछ । कोठा सर्भिस दिदा पनि फरक फरक दिनमा दिने ।’

bhedetar4

ग्राहक पाहुनाहरुले कोठा छोडेपछि २, ३ घण्टा पछि मात्र सफा गर्न लगाउने र पुरा सेनिटाइज गरेर मात्र पुनः प्रयोग गर्ने व्यवसायीहरुको प्रस्ताव छ । यस्तै, पाहुनालाई स्वागत गर्दा चिया, कफी, जुसको स्थानमा तातोपानी, बेसार पानी, अदुवा पानी, दिएर स्वागत गरिनेछ । ‘अब हामी पर्खनसक्ने अवस्थामा नै रहेनौं, त्यसैले यो मोडालिटीमा व्यवसाय सञ्चालन गर्नेबारे छलफल भइरहेको छ,’उनले भने,‘हामी ग्राहक पाहुनालाई पनि सुरक्षित छ भन्ने महशुस गराउने गरी तयारी शुरु गछौं ।’

सरकारले बन्द मात्र गराएर राहत प्याकेज नल्याएको भन्दै पर्यटन एवं होटल व्यवसायीहरु रुष्ट छन् । बैंकले किस्ताको लागि निरन्तर ताकेता गरिरहेको छ भने घरभाडा पनि तिर्नुपर्ने बाध्यता छ । ‘भेडेटारका व्यवसायीहरुले जुन बैंकबाट ऋण लिएका छन्, ती बैंकहरुलाई किस्ता लम्ब्याउने गरी अनुरोध गर्ने पनि भएका छौं । घरवालालाई अनुरोध गर्ने भनेका छौं । धेरै लामो बन्द भएकोले घरवालालाई पनि समस्या नै छ,’रुम्दालीले भने,‘भ्रमण बर्ष २०२० को कारण पर्यटन व्यवसायीहरुले ठुलो लगानी गरेका थिए, उत्साहित थिए । अहिले निराश छौं । सरकारले पनि राहत, अनुदान प्याकेज घोषणा गरेन ।’
भेडेटारको लागि अहिले पर्यटकहरु आउने पिक सिजन हो । यो बेला सेमिनार गोष्ठीहरु हुने समय हो भने गर्मीमा तराई र भारतबाट पर्यटक घुम्न आउने पनि सिजन हो । तर, कोभिड १९ को महामारी र लकडाउनले भेडेटार सुनसान छ ।