धरानः चालुु आर्थिक वर्षमा प्रदेश एक सरकारले इलाम, धनकुटा र सोलुखम्बुका एक–एक पालिकालाई पर्यटकीय क्षेत्रको रुपमा घोषणा गर्यो ।

कृषिपछि पर्यटनलाई मुल प्राथमिकतामा राखेर योजना निर्माण गरेको प्रदेश सरकारले धनकुटाको साँगुरीगढी गाउँपालिकालाई पर्यटकीय क्षेत्र घोषणा गर्नुुमा भेडेटार–नाम्जे पर्यटकीय करिडोरको आकर्षण नै थियो । तराई–पहाड भेगको मनोरम दृष्यावलोकन गर्ने रमणीय रेन्जलाई सरकारले नै उच्च प्राथमिकतामा राखेपछि त्यहाँका व्यवसायी उत्साहित भइ थप लगानी गरे भने नयाँ व्यवसायीले धमाधम लगानी भित्र्याउन थाले । तर, विश्वव्यापी बनेको कोरोना भाइरसको संक्रमणले अन्य क्षेत्रसँगै पर्यटन क्षेत्रलाई पनि ठप्प बनाएपछि भने व्यवसायीहरु निराश छन् ।

भेडेटारमा माघ २४ गते मात्र भेडेटार–देवीथान जिपलाइन शुरु हुदा व्यवसायीहरु उत्साहित थिए भने भेडेटारदेखि कार्कीछापतर्फ अर्को जिपलाइनको तयारी भइरहेको थियो । करोडौं लगानीमा निर्माणाधिन उक्त जिपलाइनका लगानीकर्ता आशिष राई अहिले के गर्ने भन्ने चिन्तामा छन् । ‘बैँकको ऋण गरेर नयाँ प्रोजेक्टको थालनी गरेका थियौँ’ व्यवसायी आशिश राईले भने ‘अब त आधा शुरु गरेको प्रोजेक्ट रोकौँ की शुरु गरौँ भएको छ,’उनले भने ।
बैँकको ऋण तिर्ने चिन्ता भए पनि बाँकी काम शुरु गरौँ कि नगरौँ भन्ने अन्यौल भएको बताए । उनका अनुसार आजसम्मकै ऋणात्मक दरमा झरेको यहाँको पर्यटन पुनः उठ्न कति समय लाग्ने हो, त्यो चिन्ता उनी जस्ता व्यवसायीमा रहेको देखिन्छ । राईले मात्र जीप फ्लाइङ र एक सय रुमको सुविधासम्पन्न होटल निर्माण गरिरहेका छन् ।

bhedetar4

छिमेकी मुलुक भारतका पश्चिम बंगाल र विहारको छोटो दुरीमा पर्ने भेडेटारमा चालुु आर्थिक वर्षमै जीप फ्लाइङ, सुविधासम्पन्न होटल र रिसोर्टहरु थपिन शुरु भयो । तर, विश्वव्यापारी महामारीको रुप लिँदै कोरोना भाइरस संसारभरी फैलिन शुरु गरेपछि यहाँको अर्थ व्यवस्था डामाडोल भयो । ‘मुख्य सिजनमै अहिलेसम्म पहिलो पटक व्यापार शुन्य भयो,’पर्यटन व्यवसायी एवं होटल एशोसिएशन भेडेटारका पुर्वअध्यक्ष लिलाराज लावती भन्छन्,‘छ यहाँका व्यवसायी अताल्लिएका छन् । यसले दीर्घकालिन रुपमा असर पार्ने हो कि भनेर चिन्नित छन् ।’ उनका अनुसार लकडाउनयता मात्र भेडेटारको पर्यटनले ४ करोड खुद नाफाबाट बञ्चित हुनुपरेको छ ।

कोशी राजमार्गको सँगमस्थल भेडेटार, रवि–राँके नयाँ सडकखण्डले समेत जोडिदैछ । तमोर करिडोरको समेत नजिक रहेको उक्त स्थानमा थप व्यवसायीक सम्भाव्यता रहेको देखिन्छ भने सरकारले समेत भ्रमण वर्ष घोषणा गरि कार्यक्रम गरिरहेको बेला एक्कासी आएको महामारीले यहाँको व्यवसाय आजसम्मै पहिलो पटक ऋणात्मक बनेको हो । ‘अहिले धेरै व्यवसायीहरु कसरी घरभाडा तीर्ने र कर्मचारीलाई तलब खुुवाएर राख्ने भन्ने चिन्तामा रहेका देखिन्छन्,’भेडेटार होटल एसोसिएसनका अध्यक्ष जीतेन्द्र रुम्दालीले भने,‘अब त सरकारले सहयोग गरिदिनुपर्यो, बैँकको ब्याजमात्र मिनामा गरिदिए पनि धेरै राहत हुनेथियो ।’

उनका अनुसार नियमित काम गर्ने करिब ५ सय कर्मचारी रहेका छन् । त्यस्तै,भेडेटारको होटल व्यवसायले नजिकका गाउँको कृषि उपजले सहज बजार पाएको थियो । यहाँको पर्यटन व्यवसायसँगै नजिकका गाउँको आम्दानीसमेत ठप्पै भएको छ । दैनकी करिव ५० लाख कारोवार हुने भेडेटारमा मात्रै साना ठुला गरि एक सय भन्दा बढि होटल, रिसोर्टहरु रहेका छन् ।