धरान: प्रदेशस्तरीय नाटक घर निर्माणको विवाद पाँच बुँदे सहमतिमा सुल्झिएको छ ।

धरान उपमहानगरपालिकाले सभागृह क्षेत्रमा २ कट्ठा जग्गामा नाटक घर बनाउने निर्णय गरेको थियो । तर, स्थानीयबासीले भने खुला मैदानमा पार्कलगायत संरचना बनाउन माग गर्दै नाटक घरको विरोध गरेका थिए । स्थानीयको विरोध पछि चालु आर्थिक बर्षमा विनियोजन भएको ४० लाख बजेट फ्रिज हुने सम्भावना बढेपछि उपमहानगरको पहलमा स्थानीयसँग सहमति भएको हो । विवाद सुल्झिएपछि आज दिउँसो १ बजे नाटक घर शिलान्यास कार्यक्रम हुदैछ ।

कलाकार एवं निर्देशक अरुण प्रधानका अनुसार पछिल्लो समय मेयर तिलक राईले स्थानीयसँग बैठक बसेर लिखित सहमति गरेपछि विवाद सुल्झिएको हो । ‘सहमति भएको छ, र आज नगरपालिकाको आयोजनामा शिलान्यास कार्यक्रम हुदैछ,’निर्देशक प्रधानले भने,‘हामी कलाकारहरु पनि उक्त कार्यक्रमको तयारीमा जुटेका छौं ।’ शिलान्यास संघीय सांसद जयकुमार राईको प्रमुख आतिथ्यमा हुदैछ ।

सुविधा सम्पन्न नाटक घर निर्माणको डिपिआर तयारी भइरहेको छ । यो करिब ५ करोड लागतमा निर्माण सम्पन्न हुने अनुमान छ । यो आर्थिक बर्षमा सांसद राईले ४० लाख बजेट नाटक घरको लागि विनियोजन गरिदिएका थिए । नाटक मञ्चनसँगै कविता वाचन, चित्रकला प्रर्दशनीलगायत कार्यक्रमहरु पनि आयोजना गर्न सकिने गरि नाटक घर निर्माण हुदैछ ।

के छ लिखित सहमतिमा ?

natak-sahamati

जेठ ३२ गते मेयर राईको उपस्थितिमा स्थानीयबासी, टोल विकास संस्थाका प्रतिनिधि एवं बुद्धिजिविहरुसँग ५ बुँदे लिखित सहमति भएको थियो । सहमतिको पहिलो बुँदामा सभागृहको दक्षिणको खाली जग्गामा पुर्वतर्फ २ कट्ठा घटबढ नहुने गरी नाटक घर निर्माणको लागि छुट्याउने निर्णय भएको छ । यस्तै, दोस्रो बुँदा नाटक घरलाई छुट्याए पछि बाँकी रहेको खाली जग्गामा आइयुडिपीको सामग्री व्यवस्थापन गरी जेसिबि लगाएर सम्म बनाउने र ग्रीन पार्क, वाल उद्यानलगायतको स्थानीयको अवधारणा कार्यान्वयन गर्न उपमहानगरपालिकाले सहकार्य गर्नुपर्ने निर्णय भएको छ ।

यस्तै, तेस्रो बुँदामा नाटक घरमा क्षमताको आधारमा आवश्यक रोजगारको व्यवस्था सुनिश्चित गरिनुपर्ने, नाटक घर समितिमा योग्य, दक्ष स्थानीय व्यक्तिको प्रतिनिधित्व हुने गरि नियुक्ति गरिनुपर्ने, आफ्नो कला तथा दक्षतालाई उजगर गर्न लुकेका प्रतिभालाई प्रष्फुटन गर्न स्थानीयलाई पहिलो प्राथमिकताको आधारमा निःशुल्क प्रशिक्षण दिलाउनुपर्ने निर्णय छ । सोही बुँदामा द राईजिङ क्लबले कुनै औपचारिक कार्यक्रम गर्नुपर्दा निःशुल्क सञ्चालनको अवसर दिनुपर्ने र खाली रहेको जग्गामा तत्काल पुर्वाधार तयारीको लागि १ लाख ५० हजार निकासा गरिदिने प्रतिवद्धता पुर्णरुपमा पालना गर्ने लिखित निर्णय भएको छ ।

यस्तै, चौथो बुँदामा निर्माण समिति र अनुगमन समितिमा स्थानीय, टिएलओ तथा राईजिङ क्लबका सदस्यहरुको प्रतिनिधित्व गराउन ५÷५ जनाको नामावली प्रस्तुत गर्ने पनि निर्णय भएको छ । यसैगरि, सहमतिको पाँचौं बुँदामा खाली जग्गामा पुर्वाधार निर्माणको लागि पहल समितिको अर्को बैठकबाट समिति चयन गरि अनुमोदनको लागि उपमहानगरपालिकामा पठाउने निर्णय पनि भएको छ ।

natak-sahamati1 natak-sahamati2natak-sahamati3