धरान: धरानका मेयर तिलक राईको नाममा बेरुजु रकम देखिएको समाचारले कार्यपालिका बैठकमा लफडा भएको छ ।

नेकपा सम्बद्ध वडाअध्यक्ष एवं कार्यपालिका सदस्यहरुले बेरुजुको बिषयमा प्रश्न उठाउदै बैठक बहिष्कार गरेका छन् । नेकपाका कार्यपालिका सदस्यहरुले बैठक बाहिष्कार गरेपछि बैठक बस्न सकेन । कार्यपालिका बैठक प्रभावित भएपछि नगरसभा पनि अन्योल भएको छ ।

वडा नं १६ का अध्यक्ष दिलकुमार गिरीले मेयरको नाममा बेरुजु रकम देखिएको कुरा आएपछि के हो भनेर प्रश्न गर्दा क्लियर गर्न नसकेपछि बैठक बहिष्कार गरिएको बताए । ‘यो के हो क्लियर गर्नुस्, मेयरलाई दाग लाग्दा हामीलाई पनि नराम्रो हुन्छ । सबैको मेयर हो, क्लियर गर्नुपर्छ भन्दा प्रष्ट भएन,’अध्यक्ष गिरीले भने,‘त्यसैले हामीले बैठक बाहिष्कार गरेका हौं ।’

हिजो ब्लाष्ट टाइम्स पत्रिका धरानका मेयर तिलक राईको नाममा २ लाख भन्दा बढी रकम पेश्की बेरुजु रहेको खबर प्रकाशित भएको थियो । मेयर राईले करिब १३ बर्षअघि बुद्धचोकमा बुद्ध प्रतिमा निर्माणको लागि ३ पटक पेश्की लिएको रकम अहिलेसम्म फछ्यौट हुन नसकेको सार्वजनिक भएको थियो । सोही बिषयमा आज कार्यपालिका बैठकमा नेकपाका कार्यपालिका सदस्यहरुले प्रश्न गरेर चित्तबुझ्दो जवाफ नपाएको भन्दै बहिष्कार गरेका हुन् ।

यो घटनाले धरानको सातौं नगरसभा थप अन्योल भएको छ । असार १० गते शुरु भएको नगरसभामा नीति, कार्यक्रम तथा बजेट प्रस्ततु भएपछि स्थगित भएको थियो । नगरसभा आज हुने आह्वानसहित स्थगित भएको थियो । त्यसको लागि हिजो कार्यपालिका बैठक बसेर बजेट, नीति कार्यक्रममा आवश्यक निर्णय गर्नुपर्ने भएपनि हुन सकेको थिएन ।