धरान: असार १० गते शुरु भएको धरान उपमहानगरपालिकाको सातौं नगरसभामा आगामी आर्थिक बर्ष २०७७र०७८ को नीति तथा कार्यक्रम र बजेट पेश भएपछि असार २६ गते बैठक बस्ने गरि स्थगित भयो ।

आज असार २६ गते अर्थात नगरसभाको बैठक हुनुपर्ने दिन । तर, नगरसभा त हुन सकेन नै, नगरसभाको तयारीको लागि बसेको कार्यपालिका बैठक पनि विथोलियो । कार्यपालिका बैठकमा हिजो स्थानीय ब्लाष्ट दैनिकमा मेयर तिलक राईको नाममा करिब १३ बर्षअघिको २ लाख ४१ हजार पेश्की लिएको बेरुजु रहेको समाचार प्रकाशित भएको थियो ।

सोही बिषयमा आज नेकपाबाट निवार्चित वडाअध्यक्षहरुले बैठकमा कुरा राखेको र मेयरबाट चित्त बुझ्दो जवाफ नआएपछि बैठक बहिष्कार गरिएको बताउँछन् । ‘हामीले पेश्की फछ्रयौटको बिषयमा आएको कुरा के हो भन्यौं । उहाँले माइनुट छ भन्दै हुनुहुन्थ्यो, क्लियर कुरा आएन । हाम्रो नगर प्रमुख हो उहाँ, क्लिन हुनुपर्छ,’ वडा नं १६ का अध्यक्ष दिलकुमार गिरीले भने,‘म वडा अध्यक्षलाई दाग लाग्दा मेयर साबलाई पनि लागेको हुन्छ । उहाँलाई लाग्दा हामीलाई पनि लागे सरह हो । के हो क्लियर गर्नुस् भन्दा चित्त बुझ्दो जवाफ आएन ।’

adakx

वडा नं ९ का अध्यक्ष रत्न कटवालले नगरसभा नहुनुमा जवाफदेही पनि मेयर नै हुनुपर्ने बताए । ‘हामीलाई असार २६ गते नगरसभा हो भनेर बोलाउनु भएको हो, आज सभा होइन, कार्यपालिका बैठक बोलाउनु भयो । हाम्रो कारणले त होइन,’ कटवालले भने,‘उहाँ नै गैरजिम्मेवार हुनुभयो । हामीले त साथ दिएकै हौं । आज किन नगरसभा बस्न नसकेको हो ? त्यसको पनि जवाफ दिन सक्नु भएन । उहाँलाई सचेत गराउनकै लागि बहिष्कार गरिएको हो ।’

बैठक रोकिनुमा जिम्मेवारी मैले लिनुपर्छ: मेयर राई

धरानका मेयर तिलक राईले भने कार्यपालिका बैठक रोकिनुमा आफुले जिम्मेवारी लिने बताए । पत्रिकामा पेश्की फछयौटको बिषयमा आएको समाचारमा नगर प्रमुखको नाम जोडिएको र त्यसमा आफु जवाफदेही बन्नै पर्ने उनले बताए । ‘लेखाका कर्मचारीलाई सोधे, मलाई पनि थाह नभएको बिषय हो । उहाँहरुले असारको मसान्त छ, असार पछि गरौं भन्नु भयो । तर मेरो मनले मानेन, र खोजी गर्दा २०६० साल अघिको माइन्युट खोजे, र भेटे पनि । यसमा प्रष्ट निर्णय गरेको छ,’मेयर राईले भने,‘साथीहरुले के भएको कसो भएको हो भने । कार्यपालिका बैठकमा कुरा उठाउनु भयो, जायज नै हो । कुरा उठाउनुहुन्छ भनै भनेर मैले यो तत्कालिन कागजपत्र लिएर आएको थिएँ ।’

dharan-mayor

मेयर राईका अनुसार कार्यपालिका सदस्यहरुले ‘तपाई गरिमामय पदमा हुनुहुन्छ, बेरुजुको प्रसंग निस्किहाल्यो । कम्तीमा यसलाई क्लियर गरेरै गर्दा ठिक हुन्छ’ भन्ने सुझाव दिएको र त्यसलाई आफुले सकरात्मकरुपमा लिएको पनि बताए । ‘ठिक छ, त्यो राम्रो सुझाव हो । मैले नगर प्रमुखको हैसियतले कहीबाट कुरा उठ्यो भने जिम्मेवारपुर्वक क्लियर गर्नुपर्छ,’मेयर राईले भने,‘धरान उपमहानगरपालिकाले पेश्की फछ्यौटको कुरा निकालिरहेको छ, म त धन्यवाद दिन्छु सबैलाई । धरान नगर प्रमुखको त निस्कियो भने सबैको त पेश्की बेरुजु फछ्यौट हुन्छ । अब हामी शुन्य सहनशिलतामा जानुपर्छ । त्यसकारण मैले अन्यथा लिएको छैन, सकरात्मक लिएको छुँ ।’ मेयर राईले बुद्धचोकमा विस्तारको कामको लागि पेश्की रकम लिएको र त्यसले काम भएको बताए । त्यस बिषयमा पत्रकार सम्मेलन गरेर नै सत्यतथ्य कुरा राख्ने पनि उनले बताए ।