धरानः साउनको महिना छ । साउनको सोमबार हिन्दु आराध्यदेव शिवको प्रिय महिना मानिन्छ । त्यसैले हरेक बर्ष साउनको सोमबार शिवका भक्तजनहरु पवित्र जल ल्याएर शिवालयमा चढाउने चलन छ ।

धरान १४ स्थित पिण्डेश्वर मन्दिरमा पनि प्रत्येक बर्ष जल चढाउने तीर्थालु भक्तजनहरुको घँुइचो हुने गर्छ । साउन महिनामा मात्र यहाँ अढाई लाख बढी तीर्थालुहरु दर्शन गर्न आउने गरेका छन् । साउनको सोमबार पिण्डेश्वरमा बोलबम मेला लाग्ने गर्छ । तर, यो बर्ष भने परिस्थिति सहज छैन । विश्वभर कोभिड १९ को महामारी छ, र नेपालमा पनि सरकारले यसको संक्रमणबाट जोगिन लकडाउनलाई जारी राखेको छ । लकडाउन चैत ११ गतेबाट भएदेखि नै मठमन्दिरहरु बन्द छन् ।

pindeswor6

त्यसैले यसबर्ष साउन महिनामा पनि पिण्डेश्वर मन्दिर बन्द नै हुनेछन् । साउन ९ गतेसम्म त सरकारले लकडाउन नै घोषणा गरेको छ । त्यसअघि मन्दिर सर्वसाधारण, तीर्थालुहरुको लागि खुला हुने सम्भावना छैन । तसर्थ, स्थानीय सरकार, पिण्डेश्वर बाबाधाम समिति र प्रशासनले पनि यो बर्ष साउनको सोमबार जल चढाउन पिण्डेश्वर बाबाधाममा नआउन आग्रह गरेका छन् । यो बिषयमा २ दिनअघि उपमहागनरपालिका, मन्दिर व्यवस्थापन र प्रशासनसँग छलफल भएको थियो ।

इलाका प्रशासन कार्यालय धरानका प्रमुख चन्द्रबहादुर कार्कीले सरकारले नै मठमन्दिरमा नित्य पुजाबाहेक अरु पुजाआजाको कार्य रोक्ने निर्देशन भएकोले सबै भक्तजनहरुसम्म यो खबर पुर्याउनुपर्ने बताए । ‘मन्दिर नखोल्ने निर्णय छ, त्यसैले यो सुचना श्रद्धाजुल भक्तजनहरुसम्म पुर्याउनुपर्छ । उहाँहरुले दुःख पाउनुहुन्न, र भिडभाडबाट हुने संक्रमणबाट पनि जोगिनुहुन्छ,’कार्कीले भने,‘यहाँसम्म आउनै नदिने व्यवस्था मिलाउनुपर्छ, आइहाल्नु भयो भने सम्झाउने फर्काउने गर्नुपर्छ । नाकाबाटै सम्झाई, बुझाई गरेर फर्काउने गर्नुपर्छ ।’

भिडियो:

वडा नं १४ का वडाअध्यक्ष कृष्ण भट्टराईले पिण्डेश्वर मन्दिरमा नआउन र नजिकका आफ्नो शिवलायमा नै जल चढाउन आग्रह गरे । यहाँ आएका भक्तजनहरुलाई परिस्थिति बुझेर गुनासो नहुने तरिकाले जानकारी गराइदिने बताए । ‘विश्वकै परिस्थिति भयावह छ । त्यसैले घर पायक नजिकका शिवालयमा जल चढाइदिन आग्रह गर्दछौं,’उनले भने । धरानको पिण्डेश्वर मन्दिरमा वि.स.२०३९ सालदेखि बोलबम शुरु भएको थियो । त्यसयता रोकिएको यो पहिलो पटक हो । पिण्डेश्वरमा कोशी नदीबाट पवित्र जल ल्याएर बेलपत्रको साथमा चढाउने चलन छ । यसो गर्दा मनोकांक्षा पुरा हुने विश्वास छ ।

pindeswor1 pindeswor2 pindeswor3 pindeswor5 pindeswor4 pindeswor8 pindeswor7