धरान: जिल्ला अदालत सुनसरीले हर्क साम्पाङलाई अनुसन्धानको लागि ५ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ ।

इलाका प्रहरी कार्यालय धरानले साम्पाङलाई सार्वजनिक सम्पत्ति तोडफोड र अत्यावश्यक वस्तुमा अवरोधको मुद्दा दायर गरेको छ । खानेपानीको मुहानमा पाइपलाइन तोडफोड गरेको भन्दै धरान खानेपानी व्यवस्थापन बोर्डले साम्पाङविरुद्ध उजुरी दिएको थियो । सोही आधारमा साम्पाङलाई प्रहरीले हिजो मंगलबार राती ९ बजे धरान १९, बुद्धचोकबाट पक्राउ गरेको थियो । इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले भने,‘जिल्ला अदालत सुनसरीबाट ५ दिनको म्याद थप भएको छ ।’

संस्थानका निमित्त प्रमुख श्रेष्ठको खोजी जारी

खानोपनी व्यवस्थापन बोर्डले हर्क साम्पाङसँगै खानेपानी संस्थानको धरान शाखाका निमित्त प्रमुख रामकुमार श्रेष्ठविरुद्ध पनि जाहेरी दिएको थियो । श्रेष्ठले साम्पाङ नेतृत्वको समुहलाई खानेपानीको मुहान सर्दु र खर्दुसम्म पुर्याएको र उनकै उपस्थितिमा पाइपलाइन तोडफोड भएको आरोप छ ।

प्रहरीले साम्पाङलाई पक्राउ गरेर म्याद थप गरेपनि श्रेष्ठ भने अहिलेसम्म समातिएका छैनन् । उनी काठमाण्डौं गएको स्रोतको भनाई छ । धरानका डिएसपी बस्नेतले अदालतबाट उनलाई पनि पक्राउ अनुमति लिएको र श्रेष्ठको खोजी भइरहेको जानकारी दिए । ‘अदालतबाट पक्राउ पुर्जी लिएका छौं । सरकारी कर्मचारी भएकोले मुद्दा दर्ता भएको छ भनेर कार्यालयमा जानकारी गराउनुपर्छ, हामी खोजतलास गदैछौं,’डिएसपी बस्नेतले भने ।