सुनसरी: कोरोना संक्रमण बढेपछि सुनसरी प्रशासनले जिल्लामा निषेधाज्ञा घोषणा गरेको छ। निषेधाज्ञा २६ गते राति १२ देखि साउन ३२ गते राति १२ बजेसम्म लागू हुने छ।
सुनसरी प्रशासनका अनुसार साउन २६ देखि सात दिनको लागि जिल्लाभर निषेधाज्ञा जारी गरिएको हो । सीमाका जिल्लामा कोरोना संक्रमण अत्यधिक रुपमा बृद्धि भएको र जिल्लाका स्थानीय तहमा स्वाब परीक्षण गर्दा संक्रमण बढेको देखिएपछि निषेधाज्ञा जारी गरिएको प्रशासनले जनाएको छ।
निषेधाज्ञामा जिल्लाभित्र सरकारी तथा सार्वजनिक संस्थाका कर्मचारी, अत्यावश्यक सेवाका कर्मचारीले कार्यालय समय अघि र पछि हिँडडुल गर्न पाउने छन्। सरकारी नम्बर प्लेटका र कार्यालयका कर्मचारीले प्रयोग गर्ने सवारीसाधन, अत्यावश्यक सेवाका साधन, ढुवानी तथा निर्माण सामग्री बोकेका साधनबाहेक सबै प्रकारका साधनको आवागमन बन्द रहने छ।
औद्योगिक क्षेत्रको हकमा सबै उद्योग प्रतिष्ठानहरूले स्वास्थ्य प्रोटोकल पालना गरी सञ्चालन गर्न पाउने छन्। त्यस्ता उद्योमा प्रयोग हुने कच्चापदार्थ ल्याउन र उत्पादित सामान बजारमा लैजान बाधा गरिने छैन। यो नियम उल्लंघन गरे संक्रामक रोग ऐन २०२० तथा प्रचलित कानुन बमोजिम सजाय हुने प्रशासनले जनाएको छ।
 
                    _1704867435.jpeg) 
		 
                                        
                                                                                                 
		


 
		 
		 
		 
		



