धरान: खानेपानी मुहानमा पाइपलाइन तोडफोड गरेको आरोपमा पक्राउ परेका धरान १८ का हर्क साम्पाङ धरौटीमा रिहाई भएका छन् ।

उनलाई आज मंगलबार जिल्ला अदालत सुनसरीले ५० हजार धरौटीमा रिहाई गर्ने आदेश गरेको थियो । न्यायाधिश धर्मराज पौडेलको इजलाशबाट यस्तो आदेश भएपछि धरौटी बुझाएर साम्पाङ रिहा भएका हुन् । ‘पचास हजार धरौटी माग भएको थियो, बुझाएर रिहा हुनुभएको छ,’अदालतका श्रेस्तेदार नगेन्द्रकेशरी पोखरेलले भने ।

धरान खानेपानी व्यवस्थापन बोर्डले साम्पाङसहित खानेपानी संस्थानका निमित्त प्रमुख रामकुमार श्रेष्ठविरुद्ध उजुरी दिएपछि पक्राउ परेका थिए । उनीहरुविरुद्ध सार्वजनिक सम्पत्ति तोडफोड तथा सार्वजनिक सेवा अवरुद्ध पारेको मुद्दा दर्ता भएको थियो । साम्पाङलाई साउन २० गते साँझ धरान १८ बुद्धचोकबाट प्रहरीले पक्राउ गरेको थियो । उनी गएको उपनिर्वाचनमा धरानको मेयरमा स्वतन्त्र उम्मेदवार रहेका थिए । उनी भ्रष्टचारविरुद्ध अभियन्ताकोरुपमा सक्रिय छन् । विशेष गरि उनले एडिबी सहयोगमा संचालित खानेपानी आयोजनामा भ्रष्टचार भएको भन्दै हिसाब सार्वजनिक गर्न माग गर्दै आएका छ्न । उनको रिहाईमा खुशी मनाउदै समर्थकहरुले मंगलबार साँझ धरान १८ मा जुलुश निकालेको थियो ।

harka-sangpang

आफ्ना समर्थकहरुलाई संक्षिप्त सम्बोधन गर्दै साम्पाङले आफुले भ्रष्टचारविरुद्ध आवाज उठाएकोले षडयन्त्र गरेर फसाएको बताए । आफुले आवाजविहिन, गरिब, दुःखी, पीडित, मजदुरहरुको पक्षमा बोल्ने व्यक्ति भएको र भ्रष्टचारको पोल खोलिने भएपछि षडयन्त्र गरेर फसाएको दाबी गरे । ‘धरानमा भएको भ्रष्टचार र बेथितीको विरुद्धमा निडर भएर बोल्ने दुश्साहस गरे, त्यही भएकोले म पक्राउ परे,’उनले भने,‘भ्रष्टचारको पोल खोलिने भएपछि षडयन्त्र गरेर फसाएको हो ।’

साम्पाङले अब सबै धराने जनता मिलेर भ्रष्टचारीहरुलाई धुलो चटाउन पनि आह्वान गरे । खानेपानीको मात्र नभएर पर्यटनसँगै अन्य विविध बिषयमा भएको भ्रष्टचारकोविरुद्ध निरन्तर आवाज उठाइरहने पनि उनले बताए । ‘तपाईहरुले मलाई समर्थन जनाउनु भएको छ, यो समर्थन सदाचार, सुशासनको पक्षमा हो, र भ्रष्टचारको विपक्षमा जनमत हो,’उनले भने ।

 भिडियो :