आसफोर्ड(यूके): नयाँ पुस्तामा सँस्कृति हस्तान्तरण गर्ने उद्देश्यले आयोजना गरिएको यूके व्यापी याक्थुङ चित्रकला प्रतियोगिताका विजयीहरूलाई पुरस्कार वितरण गरिएको छ ।

नतिजा घोषणा भएको करिब तीन महिनापछि उनीहरूलाई पुरस्कार दिइएको हो । आदिवासी याक्थुङ(लिम्बु) समुदायले धुमधामका साथ मान्ने सिसेक्पा तङ्नाम पर्वको उपलक्ष्यमा किरात याक्थुङ चुम्लुङ आसफोर्ड शाखा समिति यूके र ओरिगेमी रेडियोले संयुक्त रूपमा चित्रकला प्रतियोगिता आयोजना गरेको थियो । करिब महिनादेखि चलेको प्रतिस्पर्धामा यूकेका विभिन्न क्षेत्रहरूबाट दुई दर्जन बढी सहभागी भएका थिए । प्रतियोगिताको अन्तिम नतिजा गएको विश्व आदिवासी दिवसका दिन घोषणा गरिएको चुम्लुङ आसफोर्डका साँस्कृतिक विभाग प्रमुख शिशिर सम्बाहाङ्फेले बताए ।

प्रतियोगिताका विजयीहरूलाई दुई समूहमा विभाजन गरिएको थियो । जसअन्तर्गत १० वर्षमुनिको समूहमा सेल्सबरीकी अप्रिसा लिम्बु प्रथम, आसफोर्डकी चेसुङ लिम्बु दोस्रो र आसफोर्डकै आरोन लिम्बु तेस्रो भएका थिए । त्यस्तै, १८ वर्षमुनिको समूहबाट मेडस्टोनकी पुनम तुम्बाहाङ्फे प्रथम, वेल्सकी स्नेहा येङ्देन दोस्रो, आसफोर्डकी इक्सा लिम्बु तेस्रो भएकी थिइन् । त्यस्तै, आसफोर्डका मिक्सा लिम्बु र ओजस्वी लिम्बु सान्तवना भएका थिए । यसैगरी, योर्कसायरका नाम्यो लिम्बुले क्रिएटिभ अवार्ड हात पारेको सम्बाहाङ्फेले जनाए ।

yakthung-prize

नतिजा अगष्टमै घोषणा भएपनि कोभिड महामारीका कारण उपयुक्त समयको अभावमा पुरस्कार वितरण गर्न नसकिएको चुम्लुङ आसफोर्ड अध्यक्ष टङ्क येङ्देनले स्पष्ट पारे । उनले बिहीबार पुनः दोस्रो लकडाउन सुरु हुनुअघि सबै विजयीहरूलाई नगद पुरस्कार, प्रमाणपत्र र ट्रफी हस्तान्तरण गर्ने काम सम्पन्न भएको जनाए । भाषा, संस्कृति र इतिहासलाई सूचना प्रविधिको माध्यमबाट विस्तार गर्न सहयोग पु¥याउन चुम्लुङसँग सहकार्य गरेको ओरिगेमी रेडियोका संस्थापक शिशिर याक्थुङ्बाले जानकारी दिए । याक्थुङ पहिचानको संरक्षण गर्दै प्रवासमा हुर्किरहेका नयाँ पुस्तामा संस्कृतिप्रति अपनत्व बढाउन याक्थुङ चित्रकला प्रतियोगिता आयोजना गरिएको परिकल्पनाकार एवम् आसफोर्ड शाखा सहसचिव अमित थेवेले बताए ।

yakthung-paint