धरान: निजी विद्यालयको शुल्क निर्धारण गर्न वेवास्ता गरेको भन्दै अभिभावकहरुले धरान उपमहानगरपालिकामा नाराबाजी गरेका छन् ।

कार्यकक्षमा मेयर र उपमेयरलाई नभेटे पछि अभिभावकहरु शिक्षा महाशाखा प्रमुख रत्न कटवालको कार्यकक्षमा पुगेका थिए । त्यहाँ छलफलको क्रममा अभिाभवकहरुले नाराबाजी गरेका थिए । उनीहरुले रत्न कटवाल मुर्दाबाद.., शिक्षा महशाखा मुर्दाबाद...भन्ने नारा लगाएका थिए । धरान अभिभावक विद्यार्थी परिवारको आह्वानमा अभिभावकहरु उपमहानगरपालिकामा धर्ना दिन गएका थिए । धर्ना अघि अभिभावकहरु मेयर र उपमेयरलाई भेट्न कार्यकक्षमा पुगेका थिए । तर, मेयर र उपमेयर दुवै कार्यालय बाहिर भएकोले अभिभावकहरुले भेटेनन् ।

अभिभावक विकास भाटीका अनुसार बेलुकासम्म उपमहानगरले निर्णय नगरेसम्म शुल्क नउठाउनेबारे ठोस निर्णय गरेर निर्देशन जारी गर्ने आश्वासन शिक्षा महाशाखाले दिएको छ । उक्त आश्वासन पछि आजको साढे १० बजेको धर्ना कार्यक्रम तत्काललाई स्थगित गरिएको उनले जानकारी दिए । ‘केही बेर नाराबाजी पनि भयो, शिक्षा महाशाखा प्रमुख रत्न कटवालले मेयरसँग सम्पर्क गरेर बेलुकासम्म शुल्क नउठाउने निर्देशन दिने भनेकोले हामी पर्खिबसेका छौं,’उनले भने,‘आज बेलुकासम्म पनि ठोस निर्णय आएन भने तालाबन्दी पनि गछौं ।’ अहिले पनि अभिभावकहरु उपमहानगरपालिकामा नै रहेका छन् । ठोस निर्णय र निर्देशन जारी नभए आन्दोलन शुरु गर्ने अभिभावकहरुको योजना छ ।

sikxa1

धरानका सम्पुर्ण अभिभावकहरुको समस्या लिएर उपमहानगरपालिकालाई गुहार्दा पनि वेवास्ता गर्नु दुःखद भएको अभिभावकहरुको गुनासो छ । मेयर, उपमेयर धरानको अभिभावक भएको तर विद्यार्थीहरुको अभिभावकले समस्या लिएर आउदा वेवास्ता गरेको भन्दै अभिभावक भाटी आक्रोश व्यक्त गर्छन् । ‘मेयर, उपमेयर त समग्र धरानको अभिभावक हो, तर अभिभावकहरुले विद्यार्थीको समस्या लिएर आउदा वास्ता गरेनन्, यो आपत्तिजनक पनि छ,’उनले भने ।

शिक्षा महाशाखा प्रमुख रत्न कटवालले कार्यपालिकाले शुल्क नतोकेकोले अन्योलको अवस्था भएको बताए । ‘पालिकाले शुल्कबारे निर्णय नगर्दा अन्योल भएको हो, कर्मचारीले त निर्णयलाई कार्यान्वयन गर्ने मात्र हो,’कटवालले भने,‘अभिभावकहरु आज समुहमा आउनु भएको थियो । के कसरी बुझ्नु भयो, नारा पनि लगाउनु भयो ।’ मेयरसँग सम्पर्क गरेर घटनाबारे जानकारी गराएको उनले बताए । मेयरले कार्यालय आएर निर्णय गर्ने आश्वासन दिएको पनि कटवालले बताए ।