धरान: धरानको वडा नं १५ र ४ को सिमानामा पर्ने काठे पुल निक्कै चर्चित छ । सेउती पारी खैरेनी टार, देवी गाउँ, अर्गानिक गाउँ वसन्तटार, पत्रांगबारी आउजाउ गर्न काठे पुल तर्नुपथ्र्यो । जीर्ण भए पनि बर्षाको समयमा सेउतीमा बाढी आउदा त्यही काठे पुलको भर थियो ।

अहिले भने त्यहाँ काठको पुल छैन । पक्की पुल निर्माण कार्य शुरु भएकोले जीर्ण काठको पुल भत्काइएको हो । कुनै भैपरि वा बिषम परिस्थिति आएन भने अबको ७ महिना भित्र काठको पुल भएको ठाउँमा पक्की पुल निर्माण भइसक्नेछ, र यातायात सहजरुपमा आवतजावत हुनेछ । गत बर्ष नै ठेक्का लागेको यो पुल अहिलेसम्म धेरै काम सम्पन्न हुनुपर्ने थियो, तर कोरोनाको कारण काम हुन सकेन । अहिले निर्माण कम्पनी खामपचेले पुल निर्माणको कार्य अघि बढाएको छ । स्थानीयबासी आउदो बर्षाको समयमा पक्की पुलबाट ओहोरदोहोर गर्न पाउनेमा आशावादी छन् ।

bridge

हुन त यहाँ पक्की पुल निर्माण गर्न २०६९ देखि नै शुरुवात भएको थियो । तर दिगो आर्थिक स्रोत(बजेट) सुनिश्चित नहुँदा यो पुल समयमा नै निर्माण हुन सकेन । शुरुवाती समयमा समानुपाति सांसदहरुले ३ बर्ष क्रमागतरुपमा बजेट लगानी गरिदिएका थिए । त्यसले पुलको फाउण्डेसन तयार भएको थियो । त्यसपछि बजेट नपाएर पुल निर्माण अलपत्र परेको थियो । पोहोर सालदेखि भने संघीय सरकारबाट बजेट सुनिश्चित भएर ठेक्का लागेको थियो ।

यो पुलको लागत स्टिमेट ३ करोड ५६ लाखको थियो । खामपचे कम्पनीले २ करोड ३६ लाखमा ठेक्का पाएको हो । ‘कोरोनाले गर्दा पोहोर काम हुन पाएन । अहिले दशैं तिहार पनि सकेर काम शुरुवात गरेका छौं,’निर्माण कम्पनीका प्रतिनिधि विश्व लिम्बुले भने,‘भैपरि केही आइलागेन भने यो आर्थिक बर्षको अन्तिमसम्म पुल तयार हुन्छ, र गाडी कुदाउछौं ।’

bridge1

वडा नं ४ का सदस्य धनबहादुर कुलुङ ठेक्का सम्झौता अवधि करिब ७ महिना मात्र भए पनि काम धमाधम हुँदा समयमा नै निर्माण सम्पन्न हुने आशा व्यक्त गर्छन् । यो पुल वडा नं ४ को लागि विकासको मेरुदण्डकोरुपमा रहेको उनको भनाई छ । ‘हाम्रो वडाको लागि यो महत्वपुर्ण पुल हो । धरान हर्दिया सडक पनि कालोपत्रे हुन्छ, र यो पुल बनेपछि सिधै निराजन बस्तीको सडकसँग जोडिएर धेरै सहज हुनेछ,’उनले भने ।