विराटनगर: प्रहरीले आगो लगाएर फरार भएका एक जना र लेनदेन विगो मुद्दाका २ जना गरि तीन जना प्रतिवादीलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार २०७५ माघ १ गते राती करिब ८ बजे रंगली नगरपालिका ४ आमतोलाका माईनो सतारको खेतमा धान काटेर कुन्यु लगाइरहेको बेला आगो लागेको थियो । उक्त आगो स्थानीय २५ बर्षीय अनिल मण्डलले लगाएका थिए । आगो लगाएर फरार भएका मण्डललाई सुनबर्षी नगरपालिका ६ स्थित गोविन्दपुर टोलमा लुकेर बसिरहेको अवस्थामा हिजो पक्राउ गरेको प्रहरीले जनाएको छ । उनको बारेमा थप अनुसन्धान कार्य भइरहेको प्रहरीको भनाई छ ।

यस्तै, लेनदेन विगो मुद्दामा जिल्ला र उच्च अदालत मोरङको फैसला वमोजिम बिगो र कैद सजाय पाएका एक दम्पत्तिलाई पनि प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका वडा नं १२ कोशी प्रोजेक्ट बस्ने ६८ बर्षीय रुपनारायण पौडेल र श्रीमति ५२ बर्षीय सीतादेवी पौडेल रहेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार अदालतबाट ६ लाख ७ हजार ४ सय ६७ विगो र १ बर्ष कैद सजाय सुनाएको थियो । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले बिहिबार घरबाट नै पक्राउ गरेर जिल्ला अदालतमा बुझाउने कार्य भइरहेको प्रहरीले जनाएको छ ।