धरान: धरान उपमहानगरपालिकाले फुटबल र तेक्वान्दो खेलको प्रशिक्षक करारमा नियुक्त गरेको छ ।

मेयर तिलक राईले आज शनिबार आयोजित एक कार्यक्रममा प्रशिक्षक नियुक्ती गरेको सार्वजनिक गरेका हुन् । नेपाली कांग्रेसको खेलकुद विभागले आयोजना गरेको दक्षिण एसियाली खेलकुदका पदक विजेता खेलाडी तथा प्रशिक्षकहरुलाई सम्मान कार्यक्रममा मेयर राईले खेलकुदको विकासको लागि प्रशिक्षक नियुक्त गरेको बताए । उनले धरानलाई फुटबल खेलले चिनाएको भन्दै सोही विधामा प्रशिक्षक पदमा अर्जुन राईलाई नियुक्ती दिएको जानकारी दिए । ‘धरानलाई जुन खेल विधाले परिचय दिएको छ, त्यो खेल र खेलाडी साथीलाई सम्मान गर्न त्यो विधाको प्रशिक्षक राख्नुपर्छ भनेर लामो समयदेखि फुटबलमा सक्रिय अर्जुन राईलाई प्रशिक्षकमा नियुक्त गरेको जानकारी गराउन चाहन्छु,’मेयर राईले भने ।

यसैगरि, मेयर राईले मार्सल आर्टमा धरान अग्रणी भएपनि तेक्वान्दोका प्रशिक्षक नभएकोले सुरज कार्कीलाई नियुक्ती दिएको जानकारी दिए । धरानका तेक्वान्दो खेलाडीहरुले गएको सागमा नेपालको लागि स्वर्ण पदक जितेका छन् । यसअघि, स्वर्गीय मेयर तारा सुब्बा हुँदा नै राजेन्द्र राईलाई उसु प्रशिक्षकमा नियुक्ती गरेका थिए भने कार्यवाहक मेयर मञ्जु भण्डारी सुवदीले टेवलटेनिसकी अन्तराष्ट्रिय खेलाडी गीता थापा मगरलाई पनि प्रशिक्षकमा नियुक्ती गरेकी थिइन् ।

खेलग्रामलाई चाडै निकास दिने

मेयर तिलक राईले धरानलाई खेलग्रामकोरुपमा विकास गर्नको लागि विगतमा भएको पहलकदमीलाई चाडै टुंगो लगाउने बताए । उपमहानगरपालिकाको अवधारणा वमोजिम धरानमा खेलग्राम बनाउन प्रदेश सरकारले गएको बर्ष नै बजेट विनियोजन गरेको थियो । उपमहानगरले धरान १७ स्थित डाँडाघोपा क्षेत्रमा खेलग्राम बनाउने निर्णय गरेर प्रस्ताव गरेको थियो । तर, राजनैतिक नेतृत्वबीच मतभेदको कारण खेलग्रामको अवधारणाले गति लिन सकेको थिए ।

गत बर्ष बजेट फ्रिज भएको थियो भने यसपाली बजेट फ्रिज हुन नदिने गरि छलफल अघि बढाउने मेयर राईले बताए । ‘धरानमा खेलग्रामको सन्दर्भमा केही पहल कदमी भएको छ । त्यसलाई केही दिनभित्र टुंगो लगाएर प्रदेश सरकारले दिएको योजनालाई अगाडि सार्नुपर्ने जिम्मेवारी तपाई हाम्रो सामु आएको छ,’मेयर राईले भने,‘विगतको समयमा छुट्याएको केही करोड पैसा तपाई हाम्रो समझदारी हुन नसक्दा त्यो पैसा फ्रिज हुन गयो । अहिले पनि केही पैसा छु्टिएको छ । खेलग्राम कहाँ बन्ने, कसरी बन्ने भनेर टुंगो लगाउनुपर्ने जरुरी छ ।’

उपमहागनरपािलकाले खेलग्रामको डिपिआर बनाउन टेण्डर गरेको र बन्ने चरणमा रहेको पनि मेयर राईले बताए । उनले कुन कुन खेल विधालाई कहाँ कहाँ निर्माण गर्ने भनेर टुंगो लगाउन छलफल अघि बढाउने बताए । ‘हाम्रो विचारहरु एक ठाउँमा नआइरहेको आग्रह गराउन चाहन्छु । हाम्रो दृष्टिकोण, भावनाहरु एक ठाउँमा ल्याएर खेलग्राम बनाउनेतर्फ सबैको सहयोग प्राप्त गर्नेछ भन्ने विश्वास गर्न चहन्छु,’मेयर राईले भने,‘खेलग्रामको बजेटलाई फ्रिज हुन नदिने गरि केही नेतृत्वहरुसँग बसेर छलफल गर्नुपर्ने भएको छ । केही नेतृत्वहरुको आ आफ्ना दृष्टिकोण छ । नगरपालिकाले केही समयभित्र टुंगो लगाएर खेलग्रामलाई निकास दिनुपर्नेछ । निर्माण गर्नुपर्ने बेला भएको छ ।’

भिडियो: