धरान: वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले उपचारको लागि आउने विरामीहरुको सुविधालाई ध्यानमा राखेर निःशुल्क ह्विलचियर तथा ट्रोली सेवा सञ्चालनमा ल्याएको छ ।
प्रतिष्ठानका अनुसार दाताहरुको सहयोगमा सेन्ट्रल ह्विलचियर एण्ड ट्रोली पुलमार्फत निःशुल्क सेवा सञ्चालनमा ल्याएको हो । प्रतिष्ठानको जीओपीडी भवन अगाडी निर्मित उक्त पुल -Pool)को आज सोमबार उपकुलपति प्रा.डा.बिक्रम प्रसाद श्रेष्ठले रिबन काटेर उद्घाटन गरेका थिए । उक्त पुल -Pool) को सफल सञ्चालनका लागि त्यहाँ रहेको QR Code मार्फत उपकुलपति श्रेष्ठले व्यक्तिगतरुपमा ५० हजार प्रतिष्ठानको खातामा जम्मा गरिदिदै सफलताको शुभकामना पनि व्यक्त गरेका थिए ।
प्रतिष्ठानका अनुसार दाताहरुबाट प्रतिष्ठानमा प्राप्त भएको १६ थान ह्विलचियर र एक थान ट्रोली मार्फत सेवा शुरु गरिएको छ । त्यसमध्ये १५ थान ह्विलचियर प्रतिष्ठानका हाडजोर्नी विभागका एडिसनल प्रोफेसर डा. विष्णु पोखरेलकी आमा श्रीमती सरिता पोखरेलले प्रदान गरेको हो भने एक थान ह्विलचियर छवी ट्रेड कन्सर्न, काठमाडौंका अंकित गोयंकाले प्रदान गरेका हुन् । त्यसैगरी, एक थान ट्रोली प्रतिष्ठानका शिक्षाध्यक्ष प्रा.डा. संजिव कुमार शर्माले प्रदान गरेका हुन् ।
दाताहरुबाट प्राप्त भएको हो, ह्विलचियर

प्रतिष्ठानलाई प्राप्त ह्विलचियर तथा ट्रोली भण्डारण साथै पुल सञ्चालनको लागि धरान वडा नं १ निवासी समाजसेवी तथा व्यापारी ललित अग्रवालले टहरा निर्माण गरेर सहयोग गरेको पनि प्रतिष्ठानका प्रवक्ता प्रा.डा.अञ्जु प्रधानले जानकारुी दिइन् ।
प्रतिष्ठानका तर्फबाट भने पुल सञ्चालन गर्न आवश्यक जनशक्ति उपलब्ध गराएको छ भने प्रतिष्ठानबाट जारी हुने प्रत्येक ओपीडी टिकटबाट २५ पैसा ह्विलचियर, ट्रोली मर्मतसम्भारको लागि छुट्याउने व्यवस्था पनि गरेको प्रवक्ता प्रधानले जानकारी दिइन् ।
यो सुविधा कसरी प्रयोग गर्ने ?
प्रतिष्ठानमा उपचारका लागि आउने विरामीहरुले ह्विलचियर वा ट्रोली प्रयोग गर्नुपर्दा उक्त पुलमा सम्पर्क राख्नुपर्ने हुन्छ । त्यहाँ खटिएका प्रतिष्ठानका कर्मचारीहरुलाई आफ्नो राष्ट्रिय परिचय खुलाउने किसिमको परिचयपत्र धरौटी राखेर निःशुल्क रुपमा ह्विलचियर वा ट्रोली प्रयोग गर्न सकिने पनि प्रतिष्ठानले जानकारी दिएको छ । विरामीको ओपीडी कार्डका आधारमा त्यहाँ रहेका कर्मचारीले सर्तनामासहितको फारम भरिदिए पश्चात् विरामी अथवा विरामी कुरुवालाई आवश्यकता अनुसार ह्विलचियर वा ट्रोली उपलब्ध गराउने प्रतिष्ठानले जनाएको छ ।
सञ्चालक समिति गठन
सेन्ट्रल ह्विलचियर तथा ट्रोली पुल सञ्चालनको लागि प्रतिष्ठानले एनेस्थसिया विभागका प्रा.डा. आशिष घिमिरेको संयोजकत्वमा १२ सदस्यीय सञ्चालक समिति पनि गठन गरेको छ । समितिको प्रभावकारी कार्यान्वयनका लागि प्रतिष्ठानका चिकित्सक र कर्मचारी बाहेक प्रतिष्ठान बाहिरबाट सदस्यको रुपमा सूनसरी उद्योग वाणिज्य संघका कोषाध्यक्ष शैलेश कुमार आचार्यलाई समेत समितिमा समावेश गरिएको प्रतिष्ठानले जानकारी दिएको छ ।
यो सेवालाई आर्थिक सहयोग गर्न चाहने दाता तथा नयाँ वा प्रयोग भइसकेको तर राम्रो अवस्थामा रहेको ह्विलचियर वा ट्रोली प्रदान गर्न चाहनेहरुले सेन्ट्रल ह्विलचियर तथा ट्रोली पुल सञ्चालक समिचिका सचिव एवं प्रतिष्ठानको अस्पताल प्रशासन महाशाखाका हाउस किपिङ्ग अफिसर मनोज कुमार यादवलाई ९८६२२८४८०८ नम्बरमा सम्पर्क गर्न सकिने पनि प्रतिष्ठानले बताएको छ ।
उद्घाटन कार्यक्रममा प्रतिष्ठानका शिक्षाध्यक्ष प्रा.डा. संजिव कुमार शर्मा, रजिष्ट्रार प्रा.डा. सूर्य प्रसाद संग्रौला, अस्पताल निर्देशक डा. जगत नारायण प्रसाद, प्रवक्ता प्रा.डा. अन्जु प्रधान, मेट्रान कला थापा, पुल सञ्चालन समितिका सदस्यहरु, महाशाखा।शाखा प्रमुखहरु, शिक्षक, चिकित्सक तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो ।







