धरान: ‘स्वच्छ धरान, स्वस्थ धरान’ भन्ने नारा बोकेको संस्था हो सेवक अभियान । यस संस्थाको पहलमा प्रत्येक साता शनिबार बिहानै हाइकिङ जाने गरेको छ । यसको २ फाइदा छन्, पदयात्रा स्वास्थ्य बनाउछ । अर्को हो, ग्रामिण पर्यटकीयस्थलको उजागर तथा प्रर्वद्धनमा टेवा पुग्छ ।

सेवक अभियानले धरान र आसपासका थुप्रै लुकेका पर्यटकीय गन्तव्यहरुलाई पहिचान गरेर प्रर्वद्धन गर्न मद्दत गरेको छ । स्वास्थ्य र ग्रामिण पर्यटन प्रर्वद्धनको अभियान लिएर सेवकका अभियन्ताहरु भारतको मिरिकसम्म पुगिसकेका छन् । हिजो शनिबार पनि सेवक अभियानको टोली १४२ औं हप्ता पदयात्रामा गए । उनीहरुको गन्तव्य थियो, ईलाम जिल्लाको चुलाचुली गाउँपालिका ५ स्थित अन्धाराजा धार्मिक क्षेत्र ।

andha2

सेवक अभियानका अध्यक्ष राजिव हलवाईका अनुसार अन्धाराजा धार्मिक क्षेत्र पर्यटन विकास समितिको निमन्त्रणामा धरानबाट ३४ जनाको टोली गएका थिए । झापाको दमकबाट करिब १३ किलोमिटर उत्तरमा पर्छ, ईलामको चुलाचुली गाउँपालिका ५ स्थित अन्धाराजा धार्मिक क्षेत्र । धरानबाट सेवकको टोली दमकदेखि १० किलोमिटर उत्तर शिखर कटनेरीसम्म बसबाट नै पुगेका थिए । त्यहाँबाट भने ३ किलोमिटर पदयात्रा गर्दै थान भएको धार्मिक क्षेत्रमा पुगेको हलवाईले बताए । थान भएको स्थान साढे ६ सय मिटर उचाईमा रहेको छ । यो टोली शनिबार साँझ धरान फर्किएको थियो ।
अन्धाराजा धार्मिक क्षेत्रको महत्व

andha1

अन्धाराजा धार्मिक क्षेत्रको सम्बन्ध महाभारतकालिन समयसँग रहेको स्थानीयहरुको भनाई छ । पुर्वशिक्षक एवं अन्धाराजा धार्मिक क्षेत्रका संस्थागत अध्यक्ष कमल प्रसाद भण्डारी यो क्षेत्रको सम्बन्ध दृष्टिविहिन राजा धृतराष्ट्र र उनकी पत्नी गान्धारीसँग जोडिएको किवंदन्ती रहेको बताउँछन् । महाभारतको युद्ध पछि धृतराष्ट्र र पत्नी गान्धारी पाण्डवहरुसँग बसेका थिए । उनीहरु भोजन गर्ने बेलामा ब्राह्मणलाई दान गर्ने गर्थे । एक दिन खाना खानुअघि उनीहरुले दान गरिरहेको देखेपछि भीमले यी हाम्रा अन्धा ठुला बुबालाई हाम्रो सम्पत्ति के दान गर्नुपरेको भनेर वचन लगाए ।

यो कुरा धृतराष्ट्र र गान्धारीलाई नराम्रो लागेपछि भागेर जाने निर्णय गरी भागेको कुरा महाभारतमा पनि उल्लेख भएको भण्डारी बताउँछन् । ‘महाभारतमा नै धृतराष्ट्र र गान्धारी पुर्वबाट पश्चिम बगेको नदीसम्म गएको र नदीमा पुगेपछि पाइला नभेटेको भन्ने कुरा खोजी गर्नेहरुले भनेको महाभारतमा नै उल्लेख छ,’भण्डारीले भने,‘त्यो नदी नेपालमा पर्छ । त्या नदी हाल मकवानपुरको राप्ती नदी हो, जुन पुर्वबाट पश्चिम बगेको छ । उनीहरुको त्यही नदी आसपासमा सेल्टर थियो, र भागेर आएको भन्ने किंवदन्ती छ, जनविश्वास छ ।’

andha4

धृतराष्टहरु भागेर आएर बसेको हुनाले नै यो ठाउँलाई अहिले अन्धाराजा धार्मिक क्षेत्र भनिएको उनी बताउँछन् । यहाँ दरबारको भग्नअवेशष र गुफा पनि रहेको छ । तर, दरबार भएको ठाउँसम्म जान सकिदैन । ‘धृतराष्ट अन्धाराजा बसेको कारण नै यो ठाउँको नाम रहेको हो । परापुर्वकालदेखि नै यहाँ आएर पुजा गर्ने गरेको थियो । गुफामा पहिला औशी पुर्णेमा धामी, चिन्ता बस्ने गथ्र्यो । दिउँसै बत्ति बल्थ्यो भन्ने जनश्रुती छ,’भण्डारीले भने ।

भिडियो :

 अन्धाराजा धार्मिक पर्यटन समितिका अध्यक्ष जगत भण्डारीका अनुसार पुर्वदक्षिणतर्फ ढुंगाको दह पनि छ । भड्डु भाडा आकारको ढुंगाको मात्र भएकोले दह देखिन्छ । यस्तै, उत्तरतर्फ अन्धा राजा रानी नुहाउने गरेको पोखरी रहेको र त्यसलाई संरक्षण गर्न आवश्यक रहेको उनले बताए । ‘प्रदेश सरकारले, गाउँपालिकाले केही लगानी गरिदिएको छ तर यो धार्मिक महत्वको पर्यटकीय क्षेत्र ओझेलमा परेको छ,’अध्यक्ष भण्डारीले भने । यो क्षेत्रमा जैविक विविधता र वन्यजन्तुहरु पनि थुप्रै छन् । सयौं प्रकारका चराचुरुंगीहरु र महत्वपुर्ण जडीबुटीहरु पनि रहेको शिक्षक भण्डारी बताउँछन् । 

तस्बिर/भिडियो स्रोत: सेवक अभियान

andha5 andha6 andha7 andha8 andha9