धरान: फागुन ८ गते आयोजना हुन लागेको प्रभु बैंक धरान १० के रन, नवौं नेवा च्यारेटीको टि सर्ट र मेडल सार्वजनिक गरिएको छ ।

आयोजक धरान रनले आज बिहिबार पत्रकार सम्मेलन गर्दै टि सर्ट र मेडल सार्वजनिक गरेको हो । धरानको भानुचोकस्थित संस्थाको कार्यालयमा अध्यक्ष रमु राई, सल्लाहकार गोपाल राईलगायतले सार्वजनिक गरेका थिए । प्रतियोगितामा सहभागी हुने सबैलाई नै टि सर्ट र मेडल दिइने अध्यक्ष राईले बताए । उनका अनुसार कोभिड १९ को कारण यसपाली डेढ सयको संख्यामा मात्र सहभागीहरु प्रतियोगितामा सहभागी गराइनेछ । उनले अर्को बर्ष १० औं सँस्करणलाई भव्यरुपमा आयोजना गर्ने पनि बताए । ‘धेरैले फोन गरेर, इमेल गरेर नाम दर्ताको लागि अनुरोध गर्नुभएको थियो, तर सबैलाई नै यसपटककोलागि सरी भनेका छौ, अब अर्को पटक दशौं हजारको संख्यामा सहभागी गराउछौं,’उनले भने ।

dharan-run1

आयोजकले कोभिडको कारण यसपाली भारतबाहेक अन्य देशहरुबाट सहभागी नआउने पनि जनाएको छ । धावकधाविकहरुबाहेक विश्वको दोस्रो हिमाल के टु आरोपण गरेर किर्तिमान कायम गरेको १० जनाको टिमलाई धरानमा स्वात सम्मान गरिने अध्यक्ष राईले जानकारी दिए । यस्तै, चर्चित गायक राजु लामाको बिशेष उपस्थिति हुनेछ भने लागुऔषध दुव्र्यसन त्यागेर धावक बनेका दार्जिलिङका प्रेमिस भुटिया पनि सहभागी हुने उनले बताए ।

यसपाली ९ औं सँस्करणमा विगतमा जस्तो विभिन्न उमेर समुह तथा भेट्रान क्याटगोरीमा सहभागिता र पुरस्कार दिइने छैन । खुला महिला र पुरुषको मात्र दौड स्पर्धा हुनेछ भने दुवैतर्फ प्रथम, दोस्रो र तेस्रो हुने धावक धाविकाहरुले क्रमशः ट्रफी, मेडलसहित नगद ५० हजार, ३० हजार र २० हजार पाउनेछन् । चौथो र पाँचौं हुनेलाई पनि सान्त्वना पुरस्कार दिइनेछ । तस्बिर: विकास चाम्लिङ