धरान: चलचित्रकर्मी महासंघका १ नं. प्रदेश अध्यक्ष अरुण कुमार प्रधानले नायक पल शाह र उनका मेनेजरले आफुमाथी र्दुव्यवहार र भौतिक आक्रमण गरेको कारण लिखितरुपमा माफी नमागे शाहको चलचित्र प्रदर्शनमा रोक लगाउने बताएका छन् ।

एक म्युजिक भिडियो छायाङकनका लागि बुधबार साँझ धरान आएका नायक शाहसहित उनका मेनेजर कृष्ण प्रसाद जोशीले प्रधानलाई दुव्र्यवहार गर्नुका साथै आक्रमण गरेका थिए । अहिले यो विषय प्रहरीमा पुगेको छ । हिजो (विहीबार) अध्यक्ष प्रधानले शाह र उनका सहयोगी जोशीले दुरव्र्यावहार गरेको भन्दै इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएका थिए । आज दिउँसो २ बजे प्रहरीले दुबै पक्षलाई छलफलका लागि बोलाए पनि शाहको सुटिंग नसकिने भएपछि दिउँसो ४ बजे मात्र दुवै पक्ष छलफलमा बस्ने भएका छन् । ‘मैले उजुरी दिएको छु, आज दिउँसो २ बजे छलफलमा डिएसपी साबले बोलाउनुभएको थियो तर, पल जीको सुटिङ नसकिएकोले ४ बजे छलफल हुनेछ,’ प्रधानले भने ।

उनले शाह र जोशीले लिखितरुपमा माफी नमागे कानुनी प्रक्रिया अघि बढाउने बताए । साथै, प्रदेश १ भरी शाहको चलचित्र प्रदर्शनमा रोक लगाउने पनि चेतावनी दिए । ‘पल जीले रियलाइज गरेर लिखित माफी नमागे कानुनी रुपमा र प्रदेश १ भरी उहाँको चलचित्र प्रदर्शनमा रोक लगाउँछौं,’प्रधानले भने,‘मैले चलचित्र महासंघ, चलचित्र निर्देशक संघ, निर्माता संघ सबैसँग जानकारी गराइसकेको छुँ, हामी रोक लगाउँछौं ।’ उनले कलाकारले राम्रो सहयोगी नराख्दा कलाकारको भविष्य डामाडोल बनाउँने भन्दै यसतर्फ सचेत हुनुपर्ने बताए । उनले कलाकारिता मात्र भएर नहुँने बताउँदै कलाकार अनुशासित हुनु पर्ने बताए । ‘अनुहार जिउँडाल र अभिनय राम्रो भएर मात्र हुँदेन, उनमा अनुशासन हुनुपर्छ तर, पल जीबाट त्यस्तो व्याबहार मैले अपेक्षा गरेको थिँइन ।’

 के भएको थियो ?

अध्यक्ष प्रधानले नायक शाह र उनका मेनेजर जोशीलाई स्वागत गर्ने र खाना खुवाउन धरान ९, पुतलीलाइनस्थित ज्वाँइ खाना रेष्टुरेन्ट लगेका थिए । शनिबार हुने प्रदेश १ अन्तर्गतको चलचित्र सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सहभागी गराउने प्रस्ताव राख्ने क्रममा आफु जुन पायो त्यै कार्यक्रममा सहभागी नहुने भनेर शाहले रुखो जवाफ फर्काएपछि सामान्य विवाद भएको प्रधानले बताए ।

‘मैले चलचित्र सम्बन्धी अन्तरक्रिया कार्यक्रममा तपाइले थोरै समय दिनुपर्यो पल जी भनेँ तर, उहाँले रुखो स्वरमा म जुन पायो त्यै कार्यक्रममा सहभागी हुन्न, मेनेजरसँग कुरा गर्नुस् भनेपछि मलाई नराम्रो लाग्यो,’प्रधानले भने,‘त्यसपछि मैले पल जी तपाई धेरै भाउ खोज्नु हुँदो रैछ भैगो तपाई सहभागी नहुँदा पनि कार्यक्रम चल्छ, हामी कर गरदैनौ, मैले मोवाइलबाट सुचना पनि हटाइसके भने त्यसपछि सामान्य विवाद भयो ।’

यो भनाभन पछि दुवै पक्ष भोलीपल्ट हुने सुटिंगको लोकेसनबारे छलफलमा जुटेका थिए । तर, त्यसबीचमा शाह र उनका मेनेजर जोशी अर्को टेवल गएर धरानका युवाहरुलाई बोलाएको प्रधानले बताए । धरानका युवाहरु आए पनि आफुहरुसँग चिनजान भएकोले ठुलो घटना हुन नपाएको उनको दाबी छ । तर, ती युवाहरु आएपछि शाहका मेनेजर जोशीले एक्कासी आफुलाई आक्रमण गरेको प्रधानले जानकारी दिए । उनले घटनाको सिसिटिभी फुटेजमा प्रमाण सुरक्षित रहेको र फुटेज प्रहरीले लिएर गएको पनि जानकारी दिए । सिसिटिभी फुटेज हेर्दा के भएको रहेछ भन्ने प्रष्ट भैहाल्छ, फुटेज प्रहरीले लिएर गएको छ, उनले भने ।