इटहरी: कलेजले अन्यायपुर्वक कोरोना अवधिको पनि शुल्क असुल्न थालेको भन्दै आन्दोलनरत इटहरीका विद्यार्थीहरुले कलेजहरुमा तालाबन्दी गरेका छन् ।

इटहरी उपमहानगरपालिकामा भएको वार्तामा मेयर द्धारिकलाल चौधरीले समस्या समाधान गर्न ७ दिनको समय मागेपनि आन्दोलनरत विद्यार्थीहरु असहमत हुँदै तालाबन्दीमा उत्रिएका हुन् । वार्तामा सहभागी विद्यार्थीका प्रतिनिधिहरुले मेयर चौधरीको आग्रह वमोजिम एक साताको समय दिने सहमति गरेका थिए । तर, वार्तास्थलबाट बाहिरिए पछि अन्य विद्यार्थी समुहले उक्त सहमति अस्वीकार गर्दै निर्णय तत्काल हुनुपर्ने भन्दै तालाबन्दीमा उत्रिएका हुन् । 

उनीहरुले विश्व आदर्श, कस्तुरी, कोशी कलेजमा तालाबन्दी गरिसकेका छन् भने अहिले विद्यार्थीहरु सुष्मा कलेजमा पनि तालाबन्दी गर्न गइरहेका छन् । विद्यार्थी समुहले निर्णय नमान्ने भन्दै तालाबन्दी गर्न हिडेपछि वार्तामा बसेका विद्यार्थी प्रतिनिधिहरु पनि उनीहरुसँगै गएका छन् । कलेज प्रशासनले कोरोना महामारीको बेला पढाइ नभएपनि शुल्क असुल्न थालेपछि विद्यार्थीहरु आन्दोलनमा उत्रिएका हुन् ।

बिहान चार वटै कलेजका विद्यार्थीहरु सडकमा उत्रिएका हुन् । दिउँसो केही बेर उपमहानगरपालिका धर्ना दिएका विद्यार्थीहरुले इटहरीको मुख्य चोकमा सडक अवरुद्ध पारेका थिए । आन्दोलनरत विद्यार्थीले कलेज प्रशासनले जबरजस्ती तिर्न लगाएको ६ महिना अवधिको शुल्क कुनै पनि हालतमा नतिर्ने अडान लिइरहेका छन् ।