धरान: अरुबेला जस्तै भइदिएको भए यतिबेला कि बुढासुब्बा गोल्डकप आयोजना भइरहेको हुन्थ्यो कि भव्य तयारी भइरहेको हुन्थ्यो । एक साता धरानमा फुटबलको रौनक छाउथ्यो । 

बिडम्बना, यसपाली मिनि ब्राजिलमा बुढासुब्बा गोल्डकप हुने छैन । इतिहासमै पहिलो पटक बुढासुब्बा गोल्डकप रोकिदा फुटबलप्रेमीहरु निराश हुनु स्वभाविकै हो । तरपनि गोल्डकपको तिर्सना भने यसपाली धरानबासीहरुले मेटिरहेका छन् । यसको कारण हो, २१ औं गोधुली रनिङ कप । फागुन २२ गतेदेखि धरान १६ स्थित रंगशालामा गोधुली कप आयोजना भइरहेको छ । फुटबलप्रेमी धरानबासीहरुले बुढासुब्बा गोल्डकप आयोजना नहुँदाको तिर्सना गोधुली कप हेरेर मेटिरहेका छन् । आफ्नो वडाको टिमलाई समर्थन गर्न वडाबाट दर्शकहरु रंगशालामा धाइरहेकै छन् ।

अझ शनिबार गोधुली कपको फाइनल खेल । यसपाली वडा नं १४ र वडा नं १६ उपाधि हत्याउन भिड्दैछन् । वडा नं १४ पहिलो पटक फाइनल खेलिरहेको छ भने वडा १६ चौथो पटक फाइनल खेल्दैछ । दुवैमा समानता के छ भने दुवै वडा पहिलो पटक गोधुलीको उपाधि ट्रफी उचाल्न भोको छन् । वडा नं १६ गत सँस्करणको उपविजेता टोली पनि हो । वडा १६ ले गत बर्षको फाइनलमा भएको हारको वदला लिदै सेमीफाइनलमा वडा नं १७ लाई हराएर फाइनल पुगेको हो । वडा नं १४ ले पनि सेमीफाइनलमा उपाधिको दाबेदार वडा नं १९ लाई टाइब्रेकरमा स्तब्ध बनाउदै फाइनल पुगेको हो । त्यसैले शनिबारको फाइनल खेल अत्यन्तै रोमाञ्चक हुने अनुमान गरिएको छ ।

वडा नं १६ आक्रमक, वडा नं १४ रक्षात्मक

Godhuli-final

वडा नं १६ र वडा नं १४ ले आफ्नो वडामा वडाअध्यक्ष कप आयोजना गरेर खेलाडीहरु छनौट गरेको हो । त्यसैले यो सँस्करणमा दुवै टोलीमा नयाँ प्रतिभा र जोशिला खेलाडीहरु भरिएका छन् । वडा नं १६ शनिबार उपाधि उचाल्ने गरि मैदानमा आक्रमकशैलीमा उत्रनेछ । 

मिडफिल्ड र डिफेन्स वलियो रहेको र स्कोर गर्नसक्ने खेलाडीहरु भएकोले निर्धारित ९० मिनेटको खेलमा नै गोल गरेर उपाधि जित्ने लक्ष्य रहेको वडा नं १६ का प्रशिक्षक श्यामकुमार लिम्बुले बताए । शुक्रबार आयोजित प्रि म्याच कन्फ्रेन्समा उनले भने,‘हामी २ महिनादेखि निरन्तर प्रशिक्षणमा छौं, नयाँ खेलाडीहरुले अवसर पाएका छन् । हाम्रो डिफेन्स र मिडफिल्ड राम्रो छ । टिमवर्क छ, र जित्छौं भन्ने आत्मविश्वास पनि छ ।’ 

वडा नं १६ ले खेलेको ४ वटा खेलमा अहिलेसम्म १ गोल मात्र खाएको छ भने विपक्षीलाई ११ गोल लगाएको छ । शनिबारको खेल पनि टाइब्रेकर हुन नदिई जित्ने रणनीतिमा खेल्ने प्रशिक्षक लिम्बुले बताए । 

पहिलो पटक फाइनल पुगेको वडा नं १४ लाई गोलकिपर भाग्यमानी सावित भइरहेको छ । यसले खेलेको ३ वटै खेल टाइब्रेकरमा जितेको छ, र ती जितमा गोलकिपरको महत्वपुर्ण भुमिका छ । त्यसैले शनिबारको खेलमा पनि टिम मेनेजर विकास राईलाई कोही प्रति भरोसा छ भने तिनै गोलकिपर हुन् । उनी भन्छन्,‘सबै राम्रा खेलाडीहरु छन्, तर मलाई गोलकिपरमा धेरै भरोसा छ । अहिलेसम्म टाइब्रेकरमा जित्दा उसले गर्दा नै हो ।’

वडा नं १४ शनिबार डिफेन्सिफ खेल्नेछ, र खेल बराबरी बनाएर टाइब्रेकरमा पुर्याउने ध्येय हुनेछ । टाइब्रेकरमा गोलकिपरले चमत्कार गर्ने र उपाधि जित्ने आशा मेनेजर राईलाई छ । वडा नं १४ लाई रक्षात्मक खेल्नुपर्ने बाध्यता पनि छ । टिम क्याप्टेन नै घाइते छन् भने अन्य केही प्लेइङ सेटकै खेलाडी पनि घाइते हुनु वडा १४ को लागि दुःखद पक्ष हो । ‘हाम्रो केही खेलाडी घाइते छन् । हामी डिफेन्सिफ नै खेल्छौं, तर उपाधि जित्ने गरि खेल्छौं,’मेनेजर राईले भने ।