धरान: विद्यार्थी आन्दोलन चर्किदै गएपछि तालाबन्दी भएको इटहरीका कलेजहरु मंगलबारदेखि सञ्चालनमा आउने भएको छ । 

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ(हिसान) सुनसरीले सोमबार साँझ प्रेस विज्ञप्ती जारी गर्दै मंगलबारदेखि कलेजहरु खोलेर पठनपाठन सुचारु गर्ने जानकारी दिएको हो । इटहरी नगर शिक्षा समितिले समस्या समाधान गर्न कार्यदल बनाइसकेको भन्दै हिसानले पठनपाठन सुचारु गर्ने जनाएको छ । आन्दोलनरत विद्यार्थीहरुका प्रतिनिधिहरुले पनि शैक्षिक प्रतिष्ठानहरुलाई पठनपाठन सुचारु गर्न आग्रह गरिसकेको पनि विज्ञप्तीमा उल्लेख छ ।

हिसानका अध्यक्ष मुकुन्द घिमिरे र सचिव सागरप्रसाद भट्टराईद्धारा जारी विज्ञप्तीमा शिक्षक तथा कर्मचारीहरुको सुरक्षा प्राथमिक चासो भएको पनि उल्लेख छ । पठन पाठन सुचारु गर्न साथै शान्ति सुरक्षा कायम गर्न हिसानले स्थानीय प्रशासन र सुरक्षा निकायहरुलाई अनुरोध पनि गरेको छ। लकडाउनको बेलाको पनि शुल्क तिर्न बाध्य पारेको भन्दै इटहरीका प्रमुख ४ निजी कलेजका विद्यार्थीहरु स्वतःस्फुर्त आन्दोलनमा उत्रिएका थिए । उनीहरुले इटहरी चोकमा यातायात अवरुद्ध पनि गरेका थिए भने कलेजहरुमा तालाबन्दी पनि गरेका थिए । collage