धरानः चार दिने धरान ओपन गल्फ प्रतियोगिताको मुख्य स्पर्धातर्फ शुक्रबार तेस्रो तथा अन्तिम दिनको खेल भइरहेको थियो । दोस्रो दिन ३६ होलको खेल सकिदासम्म नेपालका नम्बर वान गल्फर भुवन नगरकोटी कुल ४ अण्डर १ सय ३६ स्कोरले शीर्षस्थानमा थिए । 

उनीभन्दा एक स्ट्रोकले पछि थिए, समग्रमा ३ अण्डर १ सय ३७ स्कोरका साथ धरानका युवा गल्फरद्धय शुक्रबहादुर राई र नीरज तामाङ । तेस्रो दिन एउटै समुहमा रहेर खेल शुरु गर्दा भुवनले पार ५ को पहिलो होलमा नै डबल बुगी खेलेर खराब प्रर्दशन शुरु गरे । नीरजले पनि पहिलो होलमै बुगी खेले भने शुक्रले लेभल खेलेर लय समाते । दोस्रो दिन लिड गर्ने खेलाडी एउटै समुहमा भएको र उनीहरुमध्येबाटै एक जना च्याम्पियन बन्ने भएकोले खेलप्रेमीहरु उनीहरुको खेल हेर्न झुम्मिएका थिए । 

sukra5

तिनै भिडमा एक थिए, ६० बर्षीय लक्ष्मण राई । धरान १९ जिमी चोक निवासी उनी प्रतिभाशाली गल्फर २४ बर्षीय शुक्रबहादुर राईका पिता हुन् । मुख्य स्पर्धाको तेस्रो तथा अन्तिम दिन उनी छोराको खेल हेर्न गल्फ कोर्षमा आएका थिए । छोराको खेल हेर्न आएका उनै लक्ष्मणलाई सञ्चारकर्मीहरुले पछ्याउन थाल्यौं । 

शुक्रको ड्राइभ राम्रो हुँदा उनी खुशी हुन्थे । चिपिङ र पटिङ पनि राम्रो हुँदा उसैगरि उनको मन प्रफुल्ल हुन्थ्यो । छोराको खेल बिग्रदा र बुगी हुँदा उनको मन पनि बिग्रन्थ्यो, तर अर्को होलमा सुधार गर्न सक्छ नि भन्दै आफ्नै मनलाई सान्तवना पनि दिन्थे । खेल सकिएपछि छोरा च्याम्पियन हुँदै ९० हजार पुरस्कार जित्दा उनी औधी खुशी थिएँ । उनले भने,‘छोरालाई, सबैलाई बधाई छ । धेरै खुशी छुँ ।’

'छोराप्रति गर्व छ '

sukra3

खेल जारी रहदा नै हामीले शुक्रका बुवासँग कुराकानी गर्यौं । त्यसक्रममा उनले आफ्नो छोराप्रति गर्व भएको सुनाए । छोराले खेलेर नाम मात्र होइन, दाम पनि कमाएका छन् । घर खर्च पनि छोराले दिने गरेको लक्ष्मणले गर्वका साथ सुनाए । उनले भने,‘मलाई छोराप्रति गर्व छ ।’

छोरा गल्फको तालिम लिन थालेको र निरन्तर खेल्न थालेपछि भविष्यमा राम्रो खेलाडी बन्छ भन्ने लागेको उनले बताए । उमेर पनि अझै धेरै बाँकी रहेकोले छोराले अझै धेरै उपलब्धि हासिल गर्नेछ भन्ने उनलाई विश्वास छ । उनले भने,‘छोरा तालिम गरिरहन्थ्यो, कोसिस गरिरहन्थ्यो, उमेर पनि छ । कोसिस गर्यो भने सफल हुन्छ भन्ने मनमा लागेको थियो । हारे पनि सिक्दै गइन्छ भन्ने लाग्थ्यो ।’ 

'क्याडी गर्दै च्याम्पियनसम्म'

sukra4

बुबा लक्ष्मणका अनुसार शुक्रले सानै उमेरदेखि छोरा गल्फ कोर्षमा पाइला चालेका हुन् । स्कुल पढ्दादेखि नै शुक्र क्याडी ब्वाईकोरुपमा गल्फ कोर्षमा छिरेका थिए । त्यसबेला हरेक बुधबार क्याडीहरुको म्याच हुन्थ्यो । शुक्रले विस्तारै खेल्न सिके, र अहिले प्रतिभाशाली प्रोफेस्नल गल्फरकोरुपमा शुक्रले आफुलाई उभ्याएका छन् । उनीसहितको नेपालको टिमले गत बर्ष दक्षिण एसियाली खेलकुदमा नेपाललाई टिम इभेन्टमा स्वर्ण पदक दिलाएको थियो । एकलतर्फ भने उनले काँस्य पदक जितेका थिए । त्यसपछि शुक्र प्रो टर्न भएका हुन् ।

sukra6

उनी एमेच्योर खेलाडी मात्र हुँदा पनि धेरै च्याम्पियन भए । उनले नेपालकै नम्बर वान प्रोफेस्नल खेलाडीहरुलाई एमेच्योर खेलाडी हुँदा नै चुनौती दिएका थिए । इष्टर्न ओपन र प्रिमियर ओपनमा त शुक्रले ओभरअल च्याम्पियन हुँदै प्रोफेस्नल खेलाडीको ट्रफी नै हत्याएका पनि थिए । शुक्रबार धरान ओपन गल्फ उनको प्रोफेस्नल खेल जीवनको पहिलो उपाधि हो ।

भिडियो: