धरान: कोरोना महामारीले थला परेको पर्यटनलाई चलायमान बनाउने उद्देश्य लिएर धरान उपमहानगरपालिका वडा नं २० कालिमाटीमा सेक्ष एड्भेञ्चर पार्क निर्माण भइरहेको छ । 

सोही पार्कमा स्काई साइकल, जिप लाइन र ह्याङ्गिङ ब्रिजको परीक्षण सफल भएको छ । पार्कका सञ्चालकका अनुसार एक साताअघि नै पार्कमा निर्माण भएको स्काई साइकल, जिप लाइन र ह्याङ्गिङ ब्रिजको परीक्षण सफल भएको हो । अब एक सातापछि व्यवसायिकरुपमा नै शुरुवात गर्ने तयारी भइरहेको सञ्चालक एवं पर्यटनकर्मी वासुदेव वरालले जानकारी दिए । 

वरालका अनुसार ३ वटा प्रडक्ट शुरुवात भएपछि बैशाख भित्र रेष्टुरेष्ट र रेसिडेन्सियल टेन्ट शुरुवात गर्ने योजना छ । रेसिडेन्सियल टेण्ट ६ देखि ८ वटा हुनेछ । रेसिडेन्सियल टेण्ट अर्थात टेन्ट स्टेलाई सेक्षले ग्लाम्पिङको नामकरण गरेको छ । ग्लामर र क्याम्पिङको फ्युजन गरेर ग्लाम्पिङ भनिएको सेक्षकी प्रबन्ध निर्देशक एलिना मगरले जानकारी दिइन् ।

sechha

स्काई साइक्लिङ ओहोर दोहोर ३ सय मिटरको दुरी छ भने जिपलाइन २ सय मिटर दुरीको छ । यस्तै, ह्याङ्गिङ ब्रिजको दुरी १५० फिट छ । ह्याङ्गिङ ब्रिजमा टायर ब्रिज, रोप ब्रिज र उडन ब्रिज ३ वटा आइटम रहेको छ । प्रि ओपनिङमा १२ सय ५० को स्काई साइकललाई छुट दिएर ८ सय शुल्क तोकिएको छ भने ५ सयको जिपलाइनलाई छुट अफर दिएर ३ सयको शुल्क तोकिएको छ । स्काई साइकल र जिपलाइन दुवै प्याकेज लिन चाहनेलाई १ हजारमै उपलब्ध हुनेछ । यस्तै, ह्यागिङ् ब्रिज १ सय ५० रुपैयामा नै उपलब्ध हुने बरालले जानकारी दिए ।