धरान: सरकारको निर्णय विपरीतमा धरानमा कक्षादेखि माथिको विभिन्न ५ वटा बिषयको परीक्षा लिने निर्णय गरिएको छ । 

आज धरान उपमहानगरपालिकामा बसेको सर्वपक्षीय बैठकले बैशाख १८ गतेभित्र परीक्षा लिइसक्ने निर्णय गरेको हो । हिजो मात्र सरकारले भौतिक र वैकल्पिक माध्यमबाट पठनपाठन जारी राख्ने र भौतिक उपस्थितिमा हुने पुर्व निर्धारित सबै प्रकारका परीक्षाहरु अर्को आदेश नआएसम्म स्थगित गर्ने निर्णय गरेको थियो । मेयर तिलक राईको अध्यक्षतामा बसेको बैठकले कक्षा ५ सम्मको परीक्षा नलिने र आन्तरिक मुल्यांकनबाट नै रिजल्ट आउट गर्ने निर्णय गरेको शिक्षा महाशाखा प्रमुख रत्न कटवालले जानकारी दिए । यस्तै, कक्षा ५ देखि १० सम्म महत्वपुर्ण ५ वटा बिषयको परीक्षा लिएर सेसन अन्त्य गर्ने निर्णय गरिएको उनले बताए । 

बैठकले कक्षा ५ भन्दा माथिको नेपाली, अंग्रेजी, गणित, विज्ञान र सामाजिक बिषयको परीक्षा लिने निर्णय गरेको छ । स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै बैशाख १८ गतेभित्र परीक्षा लिइसक्ने निर्णय भएको कटवालले जानकारी दिए । कोभिडको असर कहिलेसम्म हुन्छ थाह छैन, धरानमा भयावह अवस्था पनि नभएकोले ५ दिन परीक्षा लिने र सेसन क्लोज गर्ने निर्णय भयो, उनले भने । यसबाहेक अन्य सम्पुर्ण शैक्षिक गतिविधिहरु पुर्णरुपमा बन्द गर्ने निर्णय भएको पनि उनले बताए ।

मेयर राईले यसअघि नै विद्यालयहरुले परीक्षाको तयारी गरिसकेको कारण बैशाख २४ गतेभित्र परीक्षा सक्ने निर्णय गरेकामा अझै छोट्याएर १८ गतेभित्रै सक्ने निर्णय भएको बताए । विद्यालयहरुमा पठनपाठन बन्द गरिसकेको उल्लेख गर्दै मेयर राईले भने,‘स्कुलहरुले परीक्षाको सबै तयारी गरिसकेको र परीक्षा सकिहाल्दा सेसन पनि क्लोज हुने भएकोले निर्णय गरिएको हो । स्वास्थ्य प्रोटोकल पुर्णरुपमा पालना गरेर नै परीक्षा लिने निर्णय भएको छ ।’

edu

edu1