धरान: अस्तब्यस्त रहेको धरानको भानुचोक, घण्टाघर आसपासका विजुलीको पोलमा झुण्डिएका तारहरुलाई व्यवस्थित गरिने भएको छ । 

नेपाल विद्युत प्रधिकरणको धरानस्थित कार्यालयमा हिजो(शनिबार) केवल, टीभी तथा ईन्टरनेट सेवा प्रदायक लगायतका प्रतिनिधिहरुको बैठकले यस्तो निर्णय गरेको हो । उक्त वैठकले प्राधिकरणको धरान वितरण केन्द्रका प्रमुख प्रताव वराल संयोजक रहेको एक समितिसमेत निर्माण गरेको छ । समितिमा धरान घण्टाघर सडक उपभोक्ता समितिका अध्यक्ष रमेश राई, धरान वडा नं २ का सदस्य धर्म तामाङ्ग, सञ्चारकर्मी मोहन श्रेष्ठ र केवल टिभि तथा ईन्टरनेट सेवा प्रदायकहरुको प्रतिनिधि रहेका छन् । 

घण्टाघर पछाडिको सडक निर्माणको क्रममा विजुलीको पोलहरुमा अव्यवस्थित तथा अनावश्क झुण्डिएको तारहरुलाई व्यवस्थित गर्न पहल गरिएको सडक निर्माण उपभोक्त समितिका अध्यक्ष रमेश राईले बताए । उक्त क्षेत्रमा आईतबारदेखि तारहरु व्यवस्थित गर्न शुरु गरिने प्राधिकरणका प्रमुख बरालले जानकारी दिए । 

वडा नं २ का सददस्य धर्म तामांगले तारहरु व्यवस्थित गर्ने कार्यमा वडा कार्यालयले सहयोग गर्ने प्रतिवद्धता जाहेर गरे । विजुलीको पोलमा तारहरु अव्यवस्थित हुँदा नगरको सौन्दर्य घट्ने र बाँदर, ठूला गाडीहरुले तारहरु चुडाउने हुँदा दुर्घटना पनि हुने गरेको छ । पहिलो चरणको काम सम्पन्न भएपछि अन्य प्रमूख क्षेत्रहरुमा पनि तार व्यवस्थित गरिने बताइएको छ । 

तस्बिर: मोहन श्रेष्ठ