विराटनगर: संसद विघटनको विरुद्धमा मोरङका विपक्षी राजनीतिक दलहरुले मोर्चाबन्दी सुरु गरेका छन् ।्
नेपाली कांग्रेस मोरङका जिल्ला कार्यालयमा आज बसेको कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले (नेपाल खनाल पक्ष) र जनता समाजवादी पार्टी उपेन्द्र पक्ष समेतको जिल्लास्तरीय बैठकले प्रतिनिधिसभा विघटनको विरुद्धमा मोर्चाबन्दी सुरु गरेको हो । चारै दलहरुको तर्फबाट आज संयुक्त विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीले गत जेष्ठ ७ गते मध्यरातमा चालिएको कदम अलोकतान्त्रिक, असंवैधानिक, जनविरोधी तथा राष्ट्रघाती भएको दाबी गर्दै घोर निन्दा एवं भत्र्सना समेत गरेको छ ।
विज्ञप्तिमा कांग्रेस मोरङका सभापति डिगबहादुर लिम्बू, माओवादी केन्द्रका जिल्ला सचिव गणेश उप्रेती सुशील, नेकपा एमाले (नेपाल–खनाल पक्ष)का सचिव राजन केसी र जनता समाजवादी पार्टी मोरङका अध्यक्ष राजकुमार यादवले हस्ताक्षर गरेका छन् । ‘प्रधानमन्त्री खड्ग प्रसाद ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको मिलेमतोमा पुनः यही जेष्ठ ७ गते मध्यरातमा चालिएको अलोकतान्त्रिक, असंवैधानिक, जनविरोधी तथा राष्ट्रघाती कदमको हामी मोरङ जिल्लास्थित राजनीतिक पार्टीहरू घोर निन्दा एवं भत्र्सना गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।
मुलुक कोभिडको महामारीले आक्रान्त भएको अवस्थालाई बेवास्ता गरि चालिएको कदमको प्रतिवाद गर्न दलहरुले आम जनता तथा सम्पूर्ण लोकतन्त्रवादी शक्तिलाई पनि अपिल गरेको छ । यस्तै, संवैधानिक व्यवस्था अनुसार बहुमत संसद सदस्यहरूको माग दाबीलाई न्यायिक मान्यता दिई संविधानको धारा ७६ (५) अनुसार शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन गरी मुलुकको वर्तमान राजनीतिक संकटको निकास यथाशिघ्र निकाल्न पनि माग गरिएको छ ।
 
                    _1704867435.jpeg) 
		 
                                        
                                                                                                 
		


 
		 
		 
		 
		



