धरान: कोरोना संक्रमण तीब्रदरमा वृद्धि भइरहेको धरानमा नेकपा एमाले १० नम्बर वडा कमिटीले वडा क्षेत्रमा सेनिटाइज गरेको छ । 
राष्ट्रिय युवा संघ १० नम्बर वडा कमिटीसँग मिलेर एमाले वडा कमिटीले आज (सोमबार) वडालाई सेनिटाइज गरेको हो । वडाका नेता तथा युवाहरुको टिम बनाएर वडाको सबै टोल, बाटो, घर तथा संघसंस्थाको आँगनमा पुगेर सेनिटाइज गरिएको वडा कमिटीले जनाएको छ । यो कार्य एमाले १० नम्बर वडा कमिटीका इञ्चार्ज कृष्ण राई, सहइञ्चार्ज महेन्द्र राई, कमिटीका अध्यक्ष विवेक राई, राष्ट्रिय युवा संघका १० नम्बर वडा कमिटी अध्यक्ष युवराज गुरुङ नेतृत्वमा भएको थियो ।
बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म वडाको सबै क्षेत्रमा पुगेर सेनिटाइज गरेको एमाले १० नम्बर वडा कमिटी अध्यक्ष विवेक राईले जानकारी दिए । ‘हामीले वडाको सबै टोल, सडक, संघसंस्था र घरको आँगनमा पुगेर सेनिटाइज गरेका छौं,’अध्यक्ष राईले भने,‘कतैबाट सहयोग लिएको होइन, हामी कमिटीका सदस्यहरु मिलेर आर्थिक संकलन गरेर खर्च गरेका हौं ।’

उक्त टोलीले कोरोना संक्रमितहरुको घरमा पुगेर औषधी तथा स्वास्थ्य सामग्रीहरु पनि वितरण गरेको थियो । पिपिई लगाएर सुरक्षित भई संक्रमितहरुलाई भेटेर हौसला प्रदान गरेको र मास्क, ग्लोब्स्, सेनिटाइजर, पारासिटामोल, भिटामिन, जीवनजललगायत सामग्री विरतण गरेको पनि वडा कमिटी अध्यक्ष राईले जानकारी दिए ।
कमिटीले यसअघि पनि वडाका विपन्न परिवारलाई राहत स्वरुप खाद्यान्न वितरण गरिसकेको छ । लकडाउनको कारण बिहान बेलुकीको छाक टार्न समस्यामा परेका वडाका विपन्न ३३ परिवारलाई राहत वितरण गरेको अध्यक्ष राईले बताए । लकडाउन अझै बढेमा दोस्रो चरणमा पनि राहत वितरण गर्ने उनको भनाई छ । यस्तै, आइसोलेसनमा बसेका संक्रमितहरुलाई आवश्यकता अनुसार अत्यावश्यक खाद्यान्न, औषधीहरु पनि पुर्याइदिने गरेको उनले बताए ।


 
                    _1704867435.jpeg) 
		 
                                        
                                                                                                 
		


 
		 
		 
		 
		



