धरान: वन क्षेत्रमा ऐन विपरीत धरान उपमहानगरपालिकाले जर्बजस्ती ठेक्का लगाएर उत्खनन् गराएको डिभिजन वन कार्यालयले आरोप लगाएको छ । 

सुनसरीका डिभिजन वन प्रमुख दानबहादुर श्रेष्ठले आफुले धेरै पहिलादेखि नै वन क्षेत्रको खोला ठेक्का नलगाउन पत्राचार गरेपनि धरानले जर्बजस्ती गरेको बताए । उनका अनुसार स्थानीय तहले वन क्षेत्रको खोलामा ठेक्का गर्न नपाउने कानुनी व्यवस्था छ । तर, धरानले भने जर्बजस्ती ठेक्का लगाएको र नगर प्रहरी परिचालन गरेर उत्खनन् गराइरहेको उनले बताए । ‘अस्तिको दिन मेयर साब आफै खोलामा पुगेर नगर प्रहरीलाई लाठी हान्नु भन्नु भएछ, यो कानुन विपरीत कार्य गर्न नहुने थियो,’श्रेष्ठले भने,‘वन क्षेत्रमा आइईई नै गर्न पाइदैन । आवादीको मात्र गर्ने हो ।’

धरान उपमहानगरपालिकाले सेउती, सेहरा र सर्दु खोला ठेक्का लगाएको छ । करिब ४ करोड ९१ लाखको ठेक्का जेठ मसान्तभित्र उत्खनन् गरेर नदीजन्य पदार्थ निकाल्नुपर्ने सर्त छ । त्यसैले अहिले ठेकेदारले आधा दर्जन बढी एक्साभेटर प्रयोग गरेर नदी उत्खनन् गरिरहेको छ । उत्खनन् वन कार्यालयले रोक्न भनेपनि धरान उपमहानगरपालिकाले नगर प्रहरी नै परिचालन गरेर उत्खनन् गराइरहेको छ । आफ्नो जनशक्ति कम भएकोले रोक्न नसकेको डिओफो श्रेष्ठको भनाई छ । 

यता धरानका मेयर तिलक राई भने आफु दुई दिन अघि खोलामा गएपनि अन्य कारण नभै अनुगमनको मात्र उद्देश्य भएको बताउँछन् । उनले भने,‘काम शुरु भएको थियो, सम्झौता अनुसार भएको छ कि छैन भनेर पुगेको हो, अरु कुनै कारण होइन ।’ उनले स्थानीय सरकार सञ्चालन ऐनले दिएको क्षेत्राधिकार भित्र रहेर प्रक्रिया अनुसार नै ठेक्का लगाएको पनि दाबी गरे । ‘वन र स्थानीय सरकारको क्षेत्राधिकार बाँझीएको छ, तर हामीले आइईई गरेर प्रक्रिया पुरा गरेर नै ठेक्का लगाएको हो,’उनले भने,‘प्रदेश र स्थानीय सरकारको आम्दानीको प्रमुख स्रोत यही हो, त्यसैले विवाद नगर्न पनि आग्रह गर्छु ।’