धरान: प्रदेश सरकारले विद्यालय नर्सिङ कार्यक्रमलाई सबै स्थानीय ताहमा विस्तार गर्ने भएको छ । 

विद्यालय अध्ययन गर्ने बालबालिकाको नियमित स्वास्थ्य जाँचको व्यवस्था गर्न सरकारले विद्यालय नर्सिङ कार्यक्रम विस्तार गर्ने भएको हो । यसको लागि स्रोतको व्यवस्थापन गरिएको आर्थिक मामिला तथा योजना मन्त्री टंक आङ्बुहाङले बजेट वक्तव्यमार्फत जानकारी दिएका छन् । 

शिक्षातर्फ कुल १ अर्ब १९ करोड बजेट विनियोजन गरिएको जानकारी दिदै मन्त्री आङबुहाङले जीवनोपयोगी तथा सिपयुक्त शिक्षा प्रदान गर्न विद्यालय शिक्षाको स्तरोन्नति गर्ने, प्राविधिक शिक्षालाई प्रोत्साहित गर्ने, विद्यालय, धार्मिक प्रकृतिका गुरुकुल, गुम्बा र मदरसा, आंगिक क्यापस तथा स्थापित विश्वविद्यालयलाई सबलीकरण गर्ने कार्यलाई निरन्तरता दिएको पनि बताए । 

यसैगरि, शिक्षा क्षेत्रको विकासका लागि विद्यार्थी शिक्षक अनुपात, भौतिक पूर्वाधारको स्तरोन्नति र आधुनिक प्रविधिमैत्री बनाउन उपयुक्त मापदण्ड बनाइने पनि उनले बताए । मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम मार्फत विद्यालयको भौतिक सुविधाको विस्तार, मर्मत, सम्भार गर्न २३ करोड ४९ लाख विनियोजन गरेको मन्त्री आङबुहाङले जानकारी दिए ।