धरान: नेपाली कांग्रेस धरान उपमहानगर समितिको आसन्न अधिवेशनमा सभापति पदमा किसोर राईले उम्मेदवारी दिने घोषणा गरेका छन् । 

पुर्व नगर सभापति रहिसकेको राईले आज एक विज्ञप्ती जारी गर्दै अधिवेशनमा आफुले कांग्रेसको नगर सभापति पदमा उम्मेदवारी दिएको घोषणा गरेका हुन् । उनी नेपाली कांग्रेस केन्द्रीय सभापति शेरबहादुर देउवा निकट हुन् । उनी हाल कांग्रेस जिल्ला सदस्य छन् । पुर्वफुटबल खेलाडी रहेका उनी एन्फा १ नम्बर प्रदेश समितिका अध्यक्ष पनि हुन् । 

यसअघि अधिवेशनमा तिलक राईसँग उनी नगर सभापतिमा पराजित भएका थिए । उनी नगर सभापतिमा पराजित भएपछि मेयरको उम्मेदवार बन्ने चाहनामा ब्रेक लागेको थियो । २०७४ को स्थानीय चुनाव र तत्कालिन मेयर तारा सुब्बाको निधन पछिको उपनिर्वाचनमा पनि कांग्रेस सभापति तिलक राईले टिकट पाएका थिए । पहिलो चुनावमा पराजित भएका उनले उपनिर्वाचनमा भने लालकिल्लामा विजयीको झण्डा फहराएका थिए । 

कांग्रेस सभापतिमा पराजित भएका किसोर राई प्रदेशसभा निर्वाचनमा भने सुनसरी क्षेत्र नं १ (क)बाट प्रदेश सांसदमा टिकट पाएका थिए । तर उनी तत्कालिन नेकपा उम्मेदवार प्रदिपकुमार भण्डारीसँग पराजित भएका थिए । भण्डारी हाल प्रदेश सभामा सभामुख छन् । राईले उम्मेद्वारी घोषणा गर्दै अधिवेशनलाई एकताको अधिवेशनकोरुपमा लिएर कांग्रेस पार्टीलाई नयाँ उचाईमा पुर्याउने जिकिर गरेका छन् । साथै, सवल, सक्षम र समन्वयकारी नेतृत्वको चयन अधिवेशनले गर्न सक्ने पनि उनले विज्ञप्तीमा उल्लेख गरेका छन् । 

kishor1