धरान: कोरोनाको दोस्रो लहरको जोखिम अझै नसकिएको र तेस्रो लहर आउनसक्ने भन्दै धरान विद्यार्थी अभिभावक परिवारले भर्ना शुल्क नलिन निजी विद्यालयहरुलाई आग्रह गरेको छ । 

बालबालिकालाई प्रभावित पार्ने गरि कोरोनाको तेस्रो लहर आउनसक्ने भन्दै नेपाल सरकारले नै यसअघि विज्ञप्तीमार्फत सजग गराइसकेको छ । यस्तो बेला निजी विद्यालयहरुले विद्यार्थी भर्नाको अभियान चलाएर महंगो शुल्क लिइरहेको भन्दै धरान अभिभावक विद्यार्थी परिवारले भने शुल्क नलिन आग्रह गरेको छ । यही बिषयमा बिहिबार अभिभावक संघको बैठक बसेर छलफल भएको विकास भाटीले जानकारी दिए । 

भाटीका अनुसार बैठकमा विद्यालयहरुले मासिक शुल्क, भर्ना शुल्क वृद्धि गरेको बिषयमा छलफल भएको थियो । कोरोना कहर निरन्तर रहेको र अझै तेस्रो लहर आउनसक्ने भनेर सरकारले नै भनिसकेको बेला महंगो भर्ना शुल्क लिइनु उचित नहुने उनले बताए । ‘यो बर्ष भर्ना शुल्क लिन हुदैन भन्ने हाम्रो कुरा हो । भौतिक उपस्थिति नै हुदैन भने किन लिने ?,’उनले भने,‘एक दुई हजार भए उचित होला, तर ९ हजार, ११ हजार, १५ हजार सम्म भर्ना शुल्क लिइरहेको छ ।’

पछिल्लो एक बर्ष महामारीको असरले अभिभावकहरुको पनि आयस्रोतमा ठुलो असर पुगेको भन्दै विद्यार्थी अभिभावक परिवार भर्ना शुल्कको बिषयमा चिन्तित छ । अनलाइन विधिबाट पढाई हुने भएकोले मासिक शुल्कबारे पनि स्थानीय सरकारले प्रष्टरुपमा शुल्क तोक्नुपर्ने माग छ । तर, स्थानीय सरकार र उसको नियमनकारी निकाय शिक्षा महाशाखा जिम्मेवार नहुदा अभिभावकहरु मारमा परिरहेको भाटी बताउँछन् । ‘प्रतिशतमा होइन, मासिक शुल्क यति मात्र लिने भनेर स्थानीय सरकारले तोक्नुपर्छ । अहिले अधिकांशले शुल्क बढाएको छ,’उनले भने,‘यही बिषयमा मेयर, शिक्षा महशाखालाई ज्ञापन पत्र बुझाउछौं, धरान नागरिक दबाब सञ्जाललाई पनि बोधार्थ दिन्छौं ।’

गत बर्ष विभिन्न निजी विद्यालयका अभिभावकहरुले पढाई नभएको र अनलाइन कक्षा पनि प्रभावकारी नभएको, खर्च बढाएको भन्दै एकजुट भएर धरान विद्यार्थी अभिभावक परिवार गठन गरेका थिए । उनीहरुले शुल्क मिनाह तथा छुट गराउन दबाबमुलक अभियान चलाएका थिए । स्थानीय सरकारले पटक पटक सरोकारवालाहरुसँग छलफल गरेर शुल्क तोकेको थियो ।