धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका आन्दोलनरत संयुक्त सघर्ष समितिले भोली सोमबारदेखि रिले अनसन गर्ने घोषणा गरेको छ । 

विगत १२ दिनदेखि आन्दोलनरत प्रतिष्ठानका फ्याकल्टी, विद्यार्थी, कर्मचारी, नर्सिङहरुले आन्दोलनको स्वरुप परिवर्तन गर्दै रिले अनसनको घोषणा गरेका हुन् । फ्याकल्टी वेल्फेयर सोसाइटीका पुर्वअध्यक्ष एवं संयुक्त संघर्ष समितिका सहसंयोजक डा.विष्णु पोखरेलले विरामीहरुको उपचार सेवा प्रभावित नहुने गरि रिले अनसन शुरु गरिने बताए । आन्दोलनलाई कडा बनाउन रिले अनसन शुरु गर्ने उनले बताए । आन्दोलनलाई वेवास्ता गरिरहे आमरण अनसन पनि गर्ने उनले चेतावनी दिए । 

bp-andolan1 3

यस्तै, उनले प्रतिष्ठानलाई पारदर्शी बनाउनको लागि चार जना पदाधिकारी चढ्ने गाडीमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लेख्ने पनि घोषणा गरे । गाडी दुरुपयोग हुन नदिन वीपी प्रतिष्ठानको नाम लेख्ने घोषणा गर्दै उनले यसले गाडीको दुरुपयोग आधा भन्दा कम हुने दाबी गरे । चार जना पदाधिकारीहरुलाई प्रतिष्ठानले उपलब्ध गराएको गाडी चढ्ने अधिकार नभएको पनि उनले बताए । वीपी प्रतिष्ठानको हित नगर्ने पदाधिकारीहरुको गाडीको चाबी खोस्ने पनि घोषणा गरे ।

 उनको घोषणा अनुसार संघर्ष समितिले तीन पदाधिकारीहरु रेक्टर प्रा.डा.गुरु खनाल, रजिष्ट्रार प्रा.डा.मोहनचन्द्र रेग्मी र अस्पताल निर्देशक प्रा.डा.गौरीशंकर साहलाई प्रतिष्ठानले दिएको सार्वजनिक सवारी साधनको चाबी जफत गरिसकेको छ । उपकुलपति डा.ज्ञानेन्द्र गिरी काठमाण्डौंमा गएकोले उनको गाडीको चाबी भने जफत गरिएको छैन । 

bp-andolan 3

कार्यसम्पादनको आधारमा कारबाही गर्नुपर्ने धारणा राख्दै उनले प्रक्रिया आफैबाट शुरु गर्न उपकुलपतिलाई आग्रह गरे । कार्यसम्पादन गर्दा फेल हुने डरले उपकुलपति वार्ताबाट भागेको पनि उनले आरोप लगाए । कार्यसम्पादन मुल्यांकन गर्ने हो भने गोप्य फाइल चोरेर अख्तियारमा पठाउने पदाधिकारीहरुलाई गर्न पनि उनले चेतावनी दिए । 

प्रतिष्ठानका विद्यार्थी प्रतिनिधि अमृत जैसीले तालाबन्दीसम्मको कार्यक्रम तय गरिएको उद्घोष गर्दै ताला पनि किनिसकेको बताए । कर्मचारी कल्याण समाजकी महासचिव जमुना भुर्तेलले परिवारमा अभिभावकलाई छोराछोरीले गल्ती गरेको औल्याइदिदा सकरात्मक लिएर अघि बढ्नुपर्ने बताए । कर्मचारी कल्याण समाज तदर्थ समितिका महासचिव मदन हलवाईले अब भिरबाट झर्नेहरुलाई राम राम मात्रै भन्न सक्ने, काँध थाम्न नसक्ने बताए ।