धरान: नेकपा एमालेमा पार्टी एकता विवाद चरमोत्कर्षमा पुगेको मौकामा प्रधानमन्त्री शेरबहादुर देउवाले आजै विश्वासको मत लिने भएका छन् ।

विघटित संसदको बैठक सर्वोच्च अदालतको फैसला अनुसार आज बस्दैछ । सर्वोच्चकै परमादेशबाट प्रधानमन्त्रीमा नियुक्त भएका देउवाले आजै विश्वासको मत लिन प्रस्ताव दर्ता गराइसकेका छन् । देउवाले विश्वासको मत पाउनको लागि एमालेको माधवकुमार नेपाल पक्षको मत अतिआवश्यक छ । एमालेमा कार्यदलले गरेको १० बुँदे सहमतिलाई नेता नेपालले स्वामित्व ग्रहण नगर्दा एकता संकटमा परिसकेको छ । 

एमालेले देउवालाई विश्वासको मत नदिने संस्थागत निर्णय गरेर विश्वासको मतको विपक्षमा मतदान गर्न सांसदहरुलाई निर्देशन दिइसकेको छ । तर, देउवाको पक्षमा हस्ताक्षर गरेका नेपाल समुहका बहुमत सांसदहरु भने विश्वासको मत दिने पक्षमा छन् । झलनाथ खनालले अस्पतालको बेडबाट नै देउवालाई विश्वासको मत दिन आह्वान गरिसकेका छन् । नेपाल समुहभित्र पनि देउवालाई विश्वासको मत दिनेबारे मतभेद देखिएको छ । कार्यदलका सदस्यहरु विश्वासको मत दिन नहुने पक्षमा छन्, र एकताको लागि प्रयासरत छन् । नेता नेपालले १० बुँदे सहमतिलाई अस्वीकार गरेपनि भने उनीहरुको प्रयास सफल भएको छैन ।

प्रधानमन्त्री देउवाले एमाले एकता हुनुअघि नै माधव नेपाल समुहको मत पाउनको लागि विश्वासको मत लिन हतातिएका हुन् । जनता समाजवादी पार्टीमा पनि उपेन्द्र यादव पक्षले विश्वासको मत दिने भएपनि महन्थ ठाकुर पक्षका सांसदहरुले विश्वासको मतको विपक्षमा मतदान गर्ने भएकोले देउवालाई एमालेकै माधव नेपाल समुहको मत आवश्यक पर्छ । जसपाका सांसदहरुले पछिल्लो समय कित्ता परिवर्तन गरिरहेको कारण यादव पक्षमा कति सांसद छन् भन्ने यकिन भइसकेको छैन । पछिल्लो संख्या अनुसार यादव पक्षमा १८ जना सांसद खुलेका छन् । 

माधव नेपाल समुहले विश्वासको पक्षमा मत दिएमा उनीहरुको लागि एमालेमा ढोका बन्द हुनेछ । तथापी, नेता नेपाल स्वयम, रामकुमारी झाँक्रीलगायत नेतृ पनि देउवालाई विश्वासको मत दिने पक्षमा उभिएका छन् । देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका २३ जनामध्ये कति जनाले विश्वासको मत दिने हुन् ? यो अहिले चासोको बिषय छ ।

प्रतिनिधिसभामा रहेका कुल १७१ सांसदमध्ये बहुमत पुर्याउन देउवालाई १३६ सांसदको मत आवश्यक छ । कांग्रेससँग ६१ र माओवादी केन्द्रसँग ४९ मत छ । जसपाका ३४ सांसदमध्ये विश्वासको मतको पक्षमा उपेन्द्र यादवसँगै १८ जना रहेको बताइएको छ । सांसदहरुको यो अंक जोड्दा १२८ जना पुग्छ । देउवालाई विश्वासको मत पाउन अब ८ जना जना सांसद मात्र आवश्यक हुन्छ । माधव नेपाल पक्षबाट यसअघि हस्ताक्षर गरेका २३ जना मध्येबाट बहुसंख्यक सांसदले देउवालाई मत दिएर सांसद जोगाउनुपर्ने पक्षमा भएकोले विश्वासको मत पाउने आँकलन गरिएको छ ।