धरान: धरानमा कोरोना संक्रमणको दरमा कमी नभएपछि रोकथाम तथा नियन्त्रण गर्न धरान उपमहानगरपालिकाले भिडभाड हुने स्थान र संक्रमणबाट बढी प्रभावित हुने क्षेत्रमा अनुगमन तथा कन्ट्रयाक्ट ट्रेसिङ गर्ने भएको छ । 

उपमहानगरपालिकामा बिहीबार मेयर तिलक राईको अध्यक्षतामा सरोकारवालाहरुसँग बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले भोली शुक्रबार दिउँसो २ बजे उपमहानगरमा भेला भएर संयुक्तरुपमा धरानको भिडभाड हुने बजार तथा मुख्य चौकहरुमा अनुगमन गर्ने निर्णय गरेको छ । मेयर राईले पछिल्लो समय धरानमा कोरोना संक्रमण दर उच्च भएकोले नियन्त्रण गर्न अनुगमन गर्ने निर्णय भएको बताए । केही दिनसम्म अनुगमन गर्दा पनि स्थितिमा परिवर्तन नभए फेरि सर्वपक्षीय छलफल गर्ने र थप कडाईका साथ लकडाउन गर्न बाध्य हुने उनले बताए ।

उपमहानगरले आजै (बिहिबार)देखि नै माईकिङ गर्न पनि थालेको छ भने मास्क अनिवार्य लगाउन पनि सचेतना गरिने वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाले जानकारी दिए । सोही बैठकले भानुचोक लगायत धरानको मुख्य चौकहरुमा निजी सवारी साधनहरुलाई यात्रु बोक्ने उद्देश्य पार्किङ गर्न नदिने निर्णय भएको खतिवडाले बताए ।

‘धरानमा संक्रमण बढिरहेको छ, त्यसैले २, ४ दिनसम्म निरन्तर भिडभाड हुने क्षेत्रमा अनुगमन गर्ने, मास्क लगाएको छ छैन हेर्ने भन्ने निर्णय भएको छ, माइकिङ पनि शुरु गरिएको छ,’उनले भने,‘भानुचोकसहित मुख्य चोकहरुमा निजी सवारीसाधन यात्रु बोक्नको लागि पार्किङ गर्न नदिने पनि निर्णय भएको छ । तर, कोही बजारमा किनमेल गर्न, बैंकमा काम लिएर आएको हो भने उनीहरुलाई छुट हुन्छ ।’ 

 बैठकमा उपमेयर मञ्जु भण्डारी, कार्यकारी अधिकृत विदुर प्रसाद खनाल, इलाका प्रशासन कार्यालय, इलाका प्रहरी कार्यालय, शसस्त्र प्रहरी, नगर प्रहरी, सुनसरी उद्योग वाणिज्य संघ, नेपाल रेडक्रस सोसाईटी, महाशाखा प्रमुखहरुको उपस्थिति रहेको थियो ।