धरान: साउन १ गते धरानका पुर्वमेयर तारा सुब्बा स्मृति दिवस नेकपा एमालेको केपी शर्मा ओली र माधव नेपाल समुहले मिलेर एकै ठाउँमा सँगै कार्यक्रम आयोजना गरे ।

धरान १९, हरियाली सामुदायिक वन समुहको हाताभित्र रहेको तारा सुब्बाको सालिकमा दुवै समुहका नेताहरुले माल्यार्पण गरे, र सामुहिक तस्बिर पनि खिचाए । पार्टीभित्र एकताको पहल भइरहेको बेला धरानबाट दुवै समुहका नेता, कार्यकर्ताहरुले सँगै कार्यक्रम गरेर एकताको सन्देश दिएका थिए । अध्यक्ष केपी शर्मा ओली र माधवकुमार नेपालबीच तीब्र विवाद भएर पार्टी विभाजनको संघारमा पुग्दा धरानले एकताको सन्देश दिएको टिप्पणी भएको थियो ।

साउन १ गते मिलेर कार्यक्रम गरेर एकताको सन्देश दिएको चर्चा गरिए पनि एमालेका दुवै समुहका स्थानीय नेता, कार्यकर्ताहरुबीच त्यो कार्यक्रम मात्र देखावटी थियो । उनीहरुको एकताको कुरा एक साता पनि टिकेन । बिहिबार नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४३ औं स्मृति दिवस मनाउदै गर्दा दुवै समुहले साउन १ गते जस्तै मिलेर कार्यक्रम गर्न चासो देखाएनन् । कम्युनिष्ट पार्टीको संस्थापक नेताको स्मृति दिवस दुवै समुहले धरानमा अलग-अलग मनाए ।

पार्टी अध्यक्ष ओली पक्षधरले बिहान एमाले धरान उपमहानगर कमिटीको कार्यालयमा कार्यक्रम गरेका थिए । त्यसपछि, ओली पक्षकै राष्ट्रिय युवा संघ नेपालको आयोजनामा सर्दु जलाधार क्षेत्रमा २ हजार विरुवाको वृक्षारोपण कार्यक्रम भएको थियो । नेता नेपाल पक्षका नेता, कार्यकर्ताहरुले पनि धरान १६ स्थित तारा सुब्बा स्मृति पार्कमा वृक्षारोपण कार्यक्रम गरि पुष्पलाल स्मृति दिवस मनाएका थिए । ‘तारा सुब्बा स्मृति दिवसमा पनि सँगै कार्यक्रम गर्न नेताहरुले ठुलै पापड बेल्नुपरेको थियो, बल्ल बल्ल अन्तिममा कुरा मिलेपछि सँगै कार्यक्रम भएको थियो,’स्थानीय एक नेताले भने,‘त्यही भएर होला यसपाली कसैले सँगै कार्यक्रम गरौं भनेर कुरा गरेनन् ।’

नेपाल पक्षीय स्थानीय नेता पारस काङमाङ पुष्पलाल स्मृति दिवस सँगै मनाउन कतैबाट पनि पहल नभएको स्वीकार गर्छन् । पार्टी एउटै भएपनि एकै ठाउँमा कार्यक्रम गर्न राजनीतिकरुपमा अफ्ठेरो भएको उनले बताए । ‘एकताको सन्देश दिने हिसाबले अस्ति मिलाएरै कार्यक्रम भयो, तर राजनीतिकरुपमा एकै ठाउँ गर्दा धेरै बार्गेनिङ जस्तो हुने भयो,’उनले भने,‘जेठ २ मा पार्टी फर्केको हो भने नारायण सुवेदीलाई अध्यक्ष र राजमणी जीलाई सचिव मान्दा हुने हो, तर संयोजनको कुरा भयो ।’

यता, ओली पक्षीय नेता विजय राईले पनि सँगै कार्यक्रम गर्न पहल नभएको बताए । नेपाल पक्षबाट सँगै कार्यक्रमको प्रस्ताव आए सकरात्मकरुपमा लिने भनिए पनि त्यस्तो प्रस्तावै नआएको उनको भनाई छ । ‘उहाँहरुले पनि सँगै कार्यक्रम गरौं भन्नु भएन, हामीले पनि पहल गरेनौं,’उनले भने,‘उताबाट कुरा आयो भने सँगै गर्ने कुरा थियो, तर त्यस्तो भएन ।’