धरान: नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पनि पार्टी परित्याग गरेका छन् । 

गौतमले आज शुक्रबार साँझ एमाले पार्टी कार्यालयमा कार्यालय सचिव शेरबहादुर तामाङलाई राजिनामा बुझाएका हुन् । गौतम एमालेको नवौं राष्ट्रिय महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित भएका थिए । एमाले र माओवादी केन्द्र एकीकरण भएपछि बनेको तत्कालिन नेकपामा पनि उनी उपाध्यक्ष थिए । यद्यपी, नेकपा विभाजित हुँदा भने गौतमले एकता अभियान चलाएका थिए । 

राजिनामा दिएका गौतम अब के गर्छन् भन्ने प्रष्ट भइसकेको छैन । उनी माधव नेपालको एकीकृत समाजवादीमा जाने वा नजाने अन्योल नै छ । तर, उनी पक्षका नेताहरु भने उक्त पार्टीमा गइसकेका छन् । गौतम राष्ट्रियसभा सदस्य छन् । उनकी पत्नी तुलसा गौतम प्रतिनिधि सभा सदस्य छन् । बामदेव पत्नी तुलसा भने एकीकृत समाजवादी रोजिसकेकी छिन् । वामदेवले यसअघि पनि २०५४ सालमा एमाले विभाजन गरेर नेकपा माले पार्टी बनाएका थिए । पछि पुनः एमालेसँग एकता गरेका थिए ।