धरान: करोडौंको भ्रष्टचारको अभियोग लागेका वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पुर्वउपकुलपति प्रा.डा.वीपी दासलाई बिशेष अदालतले १ करोड धरौटी माग गरेको छ ।

हिजो सोमबार बिशेष अदालतका न्यायधिशद्धय अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेको संयुक्त इजलाशले दासको वयान सकेपछि १ करोड धरौटीको आदेश दिएको हो । दासकी श्रीमतिको हकमा भने साधारण तारेखको आदेश उक्त इजलाशले दिएको बिशेष अदालतका उपरजिष्ट्रार तथा प्रवक्ता दिपेन्द्रनाथ योगीले जानकारी दिए । उनका अनुसार डा.दासले धरौटी माग भए वमोजिमको १ करोडको बैंक ग्यारेन्टी ल्याएपछि बाहिरै बसेर पुर्पक्ष गर्न पाउने भएका छन् । ‘श्रीमति र उहाँको वयान थियो, वयान सकेपछि श्रमितिलाई साधारण तारेखको आदेश भयो । दासलाई भने १ करोड धरौटी माग गर्ने आदेश थियो,’प्रवक्ता योगीले भने,‘उहाँले सनराइज बैंकबाट ग्यारेन्टी ल्याएकोले पुर्पक्षमा थुनामा जान नपर्ने भयो, बाहिरै बसेर पुर्पक्ष गर्न पाउने भएको छ । मुद्दा सकिएको होइन ।’

वीपी प्रतिष्ठानबाट भ्रष्टचार गरि अकुत सम्पत्ति कमाएको भन्दै डा.दास र उनकी श्रीमतिसहित प्रतिष्ठानका पुर्व रजिष्ट्रार तुलबहादुर श्रेष्ठ, अस्पताल निर्देशक डा.अरविन्द सिन्हा, रजिष्ट्रार नन्दबहादुर थापालाई अख्तियार दुरुपयोग आयोगले भ्रष्टचार मुद्दा दायर गरेको थियो । अख्तियारले २०७७ भदौ ३० गते डा.दास र श्रीमति पुनम दासविरुद्ध बिशेष अदालतमा मुद्दा दायर गरेको थियो । डा.दासले ७ करोड ७१ लख ९२ हजार ८ सय ६० रुपैयाँ बराबरको गैरकानुनी सम्पत्ति आर्जन गरेको देखिएको अख्तियारको अभियोग पत्रमा उल्लेख थियो । साथै, श्रीमतिको नाममा पनि दासले गैरकानुनी सम्पत्ति राखेको अख्तियारको अभियोग थियो ।