धरान: प्रहरीले सुनसरीको इटहरीबाट ब्राउन सुगरसहित दुई जना पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार इटहरी ४ का पुर्वपश्चिम राजमार्गको मिलन चोकबाट एक जना भारतीय युवासहित २ जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा झापाको गौरीजंग गाउँपालिका २ का २७ बर्षीय आइतबारी हस्दा र विहारको किसनजंग थाना दिलगबैंक ग्राम पञ्चायन १ का २२ बर्षीय सुरज साह पक्राउ परेका हुन् ।

प्रहरीले सवारीसाधन तथा शंका लागेका पैदल यात्रीको चेकजाँच गर्ने क्रममा इटहरीतर्फ गइरहेका पैदलयात्री हस्दा र साह पक्राउ परेका हुन् । उनीहरुको साथबाट १३ ग्राम ब्राउन सुगर वरामद भएको सुनसरी प्रहरीले जनाएको छ । उनीहरुलाई लागुऔषध नियन्त्रण ऐन २०३३ वमोजिम कारबाही प्रक्रिया अघि बढाइएको छ । दुवैलाई सुनसरी जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।