धरान: धरानमा दशैं तिहार पछि मात्र विद्यालय खोल्ने निर्णय भएको छ । 

आज धरान उपमहानगरपालिकाको नगर कार्यपालिकाको बैठकले दशैं तिहार पछि मात्र विद्यालय खोल्ने निर्णय गरेको हो । उपमहानगरपालिकाले असोज ४ गतेदेखि विद्यालय खोल्ने तयारी गरे पनि बैठकमा वडाअध्यक्षहरुले भने दशैं तिहार पछि मात्र खोल्नुपर्ने अडान लिएका थिए । नगर कार्यपालिका प्रवक्ता एवं वडा नं २० का अध्यक्ष मणिराम राईले दशैतिहार आइसकेकोले विदा हुने र बालबालिकालाई पनि संक्रमण हुनसक्ने उच्च जोखिम भएकोले अधिकांश वडाअध्यक्षहरुले स्कुल असोज ४ गतेदेखि खुलाउन नमानेको बताए । ‘दशै तिहार पछि मात्र स्कुल खोल्ने निर्णय भएको छ,’उनले भने ।

वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाले पनि मन्त्रालयले नै स्कुल खोलिहाल्ने बेला नभएको विज्ञप्ती जारी गरेको, बालबालिकालाई खोप पनि नलगाइएको, संक्रमण पुर्णरुपमा अन्त्य नभएकोलगायत अवस्था मध्यनजर गर्दै विद्यालय दशैं तिहार पछि मात्र खोल्ने निर्णय कार्यपालिका बैठकले गरेको जानकारी दिए । साथै, बैठकले निजी तथा संस्थागत विद्यालयहरुको शुल्कबारे पनि निर्णय गरेको र आजै उक्त निर्णय सार्वजनिक गरिने पनि उनले जानकारी दिए ।