धरान: नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत कांग्रेस धरानको नेतृत्वको लागि सभापतिमा उम्मेदवारी दिएका श्याम पोखरेल र उनको प्यानल वडा वडामा भेटघाटमा ब्यस्त छ ।

पोखरेल नेतृत्वको प्यानलले वडाबाट निवार्चित भएका क्षेत्रीय प्रतिनिधि तथा नेता, कार्यकर्ताहरुसँगको भेटघाटलाई तीब्रता दिएको हो । धरानमा असोज ९ गते नगर अधिवेशन हुदैछ । उक्त अधिवेशनले आगामी ५ बर्षको लागि धरानमा नेपाली कांग्रेसको नेतृत्व चयन गर्नेछ । धरानमा कांग्रेस सभापतिमा पोखरेल नेतृत्वको प्यानल र किसोर राई नेतृत्वको प्यानलले उम्मेदवारी घोषणा गरेको छ। पोखरेलले एक साताअघि नै उम्मेदवारी घोषणा गरेको थियो भने राई नेतृत्वको प्यानलले शुक्रबार एक समारोहबीच उम्मेदवारी घोषणा गरेको छ ।

शुक्रबार पोखरेल नेतृत्वको उम्मेदवार समुह भने नेपाली कांग्रेस वडासमिति वडा नं. १८ ले आयोजना गरेको भेटघाट कार्यक्रममा सहभागी भएको थियो । कार्यक्रममा सभापतिका उम्मेदवार पोखरेलले पार्टी, संगठनलाई मजबुत बनाउन आफ्नो टिमले उम्मेदवारी दिएको बताए । उनले आफ्नो समूहले धरानमा कांग्रेसको शिरलाई उच्च बनाउने गरि काम गर्ने प्रतिवद्धतासमेत जनाए । साथै, उनले सही नेतृत्व नआए पार्टी धराशायी हुने भएकोले सबै सचेत हुनुपर्ने पनि धारणा राखे ।

कार्यक्रममा प्रमुख अतिथि रहेका प्रदेश नं. १ का सांसद चन्द्रप्रसाद श्रेष्ठ (डिआइजी)ले पोखरेल नेतृत्वको प्यानल सक्षम र सबल रहेको बताए । उनले पोखरेल नेतृत्वको कांग्रेस भएमा धरानमा पार्टीले गति लिने बताए । कांग्रेस सुनसरीका सचिव सुजेन्द्र तामाङले यो समूहले २० वटै वडाका बुथ सभापतिहरुको आग्रहलाई बुझ्न सक्ने धारणा राखे । 

यो प्यानलबाट उपसभापतिमा नरेन्द्रकुमार राई (प्रविण) र सन्तोष लिम्बुको उम्मेदवारी रहेको छ । प्रविण धरान १८ को वडाअध्यक्ष हुन् भने सन्तोष वडा ५ का अध्यक्ष हुन् । यस्तै, सचिवमा हिमाल श्रेष्ठ र जितेन्द्र राई उम्मेदवार रहेका छन् भने सहसचिव पदमा शिला बज्रचार्य र युनेस राना मगर उम्मेदवार रहेका छन् ।