धरान: नेकपा एमालेको महाधिवेशन अन्तर्गत देशभर वडा अधिवेशन भोली शनिबार एकै दिन हुदैछ । जसअनुसार धरानमा पनि वडा अधिवेशनको तयारी भइरहेको छ । 

धरानमा वडा अधिवेशनको तयारी हुदै गर्दा कतिपय वडामा भने दुई अलग अलग स्थानमा अधिवेशनको तयारी छ । जसले गर्दा एमालेकै कतिपय संगठित सदस्य, कार्यकर्ताहरु अन्योल मात्र छैनन, दुःखी पनि छन् । यसको मुख्य कारण जेठ २ अघिको कमिटी आधिकारिक कि पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षले गठन गरेको कमिटी आधिकारिक भन्ने विवाद हो । 

जेठ २ अघिको कमिटीले मान्यता पाउदा नारायण सुवेदी अध्यक्ष रहेको कमिटीले आधिकारिकता पाउछ । यो कमिटी संसद विघटनलाई प्रतिगमन भन्दै आफ्नै पार्टी अध्यक्षकोविरुद्ध आन्दोलनमा गएको थियो । पार्टी कमिटी आन्दोलनमा गएपछि धरानमा हर्कजंग एभेङको अध्यक्षतामा धरानमा कमिटी गठन भएको थियो । सोही कमिटीले वडा कमिटीहरु गठन गरेर गतिविधिहरु गरिरहेको छ । 

यो विवाद धरान कमिटीको मात्र होइन, जिल्ला कमिटीमा पनि कुन कमिटी आधिकारिक हो भन्ने लफडा छ । जेठ २ अघिको कमिटीलाई मान्ने हो भने रमेश बस्नेत अध्यक्ष रहेको कमिटी हुन्छ । तर, संसद विघटनलाई प्रतिगमन भन्दै आन्दोलनमा गएपछि जिल्लामा पनि रेवतीरमण भण्डारी अध्यक्ष रहेको अर्को कमिटी गठन भएको थियो । एमाले जिल्ला कमिटीको हैसियतमा यो कमिटी  क्रियाशिल छ । 

दुवै पक्षको जिल्ला कमिटीले अलग अलग विज्ञप्ती जारी गर्दै आफु आधिकारिक भएको दाबी गरेका छन् र, सोही कमिटी मातहतको वडा अधिवेशन मात्र आधिकरिक हुने पनि जिकिर गरेका छन् । वडा अधिवेकन अघि जारी विज्ञप्तीमा एकले अर्को कमिटीलाई अवैधानिक करार गरेको छ । 

धरानको अधिकांश वडामा सँगै, केहीमा अलग अलग अधिवेशन

शनिबार हुने वडा अधिवेशनमा पनि दुवै पक्षले आन्तरिक तयारी गरेको छ । वडामा सँगै अधिवेशन गर्न दुवै पक्षबीच निरन्तर पहल पनि भइरहेको छ । यद्यपी, केही वडामा अलग अलग अधिवेशन हुने प्रायः निश्चित भइसकेको छ । बिशेष गरि वडा नं १५ को अधिवेशन दुवै पक्षले अलग अलग स्थानमा गर्ने पत्राचार सामाजिक सञ्जालमा चर्चाको बिषय बनेको छ ।

संस्थापन पक्षका अध्यक्ष हर्कजंग एभेङ विधान महाधिवेशनमा सामेल भइसके पनि अब जेठ २ को च्याप्टर क्लोज भइसकेको बताउँछन् । सबै वडामा प्रदेश, जिल्ला र नगरबाट समन्वय तथा सहयोग समिति तयार गरेर नेताहरु खटिएको उनले बताए । एक, दुई वडामा बाहेक अन्य सबैमा सहमतिबाट नै वडा अधिवेशनको तयारी भएको उनले दाबी गरे ।

‘आधिकारिकरुपमा निर्वाचन संयोजक हामीले सिफारिश गरेर जिल्ला पठाएका छौ, उहाँहरुको समानान्तर गतिविधि हुनसक्छ, कमिटी बन्दैन । बहुमत सदस्य सहभागी हुनुपर्छ, त्यसैले त्यो काम रोक्नुस भनेर पहल गरिरहेका छौ,’एभेङले भने,‘समानन्तर गतिविधिबाट कमिटी बनेपछि वैधानिकता पाउदैन।’ एभेङले वडा नं १५ मा मात्र समस्या भएको र त्यो विवाद पनि शनिबार अधिवेशन शुरु हुनुअघिसम्म मिल्ने बताए । उद्घाटन सत्र सकेपछि अधिकतम सर्वसम्मत सहमतिको प्रयास गर्ने र नभएमा लोकतातन्त्रिक प्रक्रिया अनुसार वडा नेतृत्व चुनिने उनले बताए ।

जेठ २ अघिको कमिटीका अध्यक्ष नारायण सुवेदीले भने सहमति हुन नसकेको वडामा अलग अलग अधिवेशन हुने बताए । उनका अनुसार केही वडामा सहमति भएर संयुक्तरुपमा नै अधिवेशन हुने निधो भइसकेको छ । ‘वडा १५ मा सहमति हुने सम्भावना एकदमै कम छ । हामीले वडाका साथीहरुलाई जिम्मेवारी दिएका छौ, सहमति नभएको वडामा अलग अलग अधिवेशन हुन्छ,’उनले भने,‘सहमतिकै लागि हामी यति समय चुप बस्यौ, यसलाई हाम्रो कमजोरी ठानियो । अब हामी पनि सांगठनिकरुपमा गतिविधि थाल्छौ ।’

12-(2)