धरानः सस्तो दरमा हेलिकप्टरबाट ताप्लेजुङ्ग जिल्लास्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा देवीको दर्शन गर्न होटल बेस क्याम्पले सेवा दिएको छ ।

माउन्टेन हेलिकप्टर्स प्रालिको हेलिकप्टरबाट सस्तो दरमा पाथिभरा दर्शनको व्यवस्था गरिएको बेस क्याम्पले जनाएको छ । बेस क्याम्पका सञ्चालक अनाम श्रेष्ठका अनुसार एक जनाको भाडा मात्र २७ हजार शुल्क लाग्नेछ । होटल बेस क्याम्पमा रहेको हेलिप्याडबाट पाथिभरा दर्शनका लागि उड्न सकिने उनले बताए । हेलिमा एकपटकमा ५ जना सवार हुनसक्नेछन् । साथै, २ वर्षभन्दा सानो उमेरका बच्चाको शुल्क नलाग्ने पनि उनले बताए । 

पाथिभरा दर्शन गर्न एकदिन अघि भेडेटार, काम्फेकस्थित होटल बेस क्याम्पमा बस्ने प्याकेज समेत रहेको छ । मन्दिर बिहान जाने चलन भएकोले बेस क्याम्पबाट बिहान ६ बजे पाथीभरा दर्शनको लागि उडान हुन्छ । त्यसैले तिर्थालुहरूको सहजताको लागी एक रात बेस क्याम्पमा आवासको व्यवस्था हुनेछ भने बेलुकीको खाना र दर्शन गरेर आइसके पछि बिहानको खाजा र खानासहितको प्याकेज बनाइएको श्रेष्ठले बताए । यो प्याकेज समेत गरि २९ हजार ५ सय मात्र कुल शुल्क रहेको पनि उनले बताए । 

बेस क्याम्पमा नै अवस्थित हेलिप्याडबाट २५ मिनेटमा पाथिभरा पुग्न सकिने माउन्टेनका मार्केटिङ म्यानेजर सन्दिप भण्डारीले जानकारी दिए । 'भेडेटारबाट ताप्लेजुङको पाथिभरा पुग्न २५ मिनेट र फर्कन २५ मिनेट लाग्छ । मन्दिर परिसरमा भने ४५ मिनेट देखि १ घण्टा सम्म दर्शनका लागी हेलिकप्टरका यात्रीहरूलाई राखिनेछ । यसरी भेडेटारबाट बढीमा २ घण्टाको समयमा दर्शन गरेर आउन सकिन्छ,'भण्डारीले भने । यस्तै, ५ जनाको समुहमा मिलेर आएमा हेलिकप्टरबाट अन्य स्थलहरूमा समेत उडान गर्न साथमा मेडिकल रेस्क्युको रुपमा पनि सेवा उपलब्ध हुने भण्डारीले जनाए ।

पाथीभरा दर्शन बाहेक भेडेटारदेखि मुलघाटसम्मको फन टुरको सेवा समेत रहेको संचालक श्रेष्ठले जानकारी दिए । फन टुर गर्नु अघि सिटका लागी एक व्यक्तिले ६ हजार र पछाडीको सिटको लागी एक व्यक्तिले ५ हजार ५ सय शुल्क तिर्नुपर्ने उनले बताए ।