धरान: धरान उपमहानगरपालिकाले डम्पिङ साईड व्यवस्थित गरेर त्यहाँ हुने आगलागीलाई पनि नियन्त्रण गर्ने भएको छ ।  

चारकोशे जङ्गलको डम्पिङ साईडमा फालिएको फोहोरहरुमा तामा, फलाम लगायत धातुजन्य पदार्थ एवं कवाडी संकलन गर्न आउनेहरुले फोहोरमा आगो लगाउने गर्छन् । यसले जंगलमा आगलागीको खतरा हुन्छ भने धुँवा फैलिएर पर्यावरणलाई पनि असर पुर्याइरहेको हुन्छ । उपमहानगरपालिकाले यसको दीर्घकालिन समस्या समाधानको लागि नगरको फोहोरमैला व्यवस्थापन गर्न भेञ्चर वेस्ट टु इर्नजी प्रालिसँग सहकार्य गरेको छ । प्रालिले फोहोरबाट उर्जा उत्पादन गर्ने प्रशोधन प्लान्ट वडा नं. ५ पानवारीमा निर्माण गरेर परिक्षण पनि गरिसकेको वातावरण अधिकृत भेषराज घिमिरेले बताए । 

प्रालिले आगामी मंसिर भित्रमा फोहोरबाट उर्जा उत्पादन शुरु गर्ने र ग्याँस बजारमा बेच्ने पनि उनले बताए । हाल डम्पिङ साईडमा केही समस्या देखिएको कारण व्यवस्थापनको लागि र फोहोर जल्ने समस्या समाधान गर्न पहल भइरहेको घिमिरेको भनाई छ । डम्पिङ साईड व्यवस्थित गरि दैनिकरुपमा फोहोर व्यवस्थापन गर्ने उनको भनाई छ । इटहरीको फोहोरमैलासमेत धरानमा पर्ने चारकोशे जङ्गलमा फाल्ने गरिएको छ ।