धरान: एमालेको १० औं महाधिवेशनको लागी सुनसरी क्षेत्र नं १ बाट महाधिवेशन प्रतिनिधि चयनमा सकस भइरहेको बेला नेता मुरारी सुवेदी र नेतृ एवं धरान उपमहानगरकी उपमेयर मञ्जु भण्डारी सुवेदीले उम्मेदारी फिर्ता लिएका छन् ।

प्रतिनिधि कोटाभन्दा धेरै उम्मेदवार भएपछि सहमतिको लागी वार्ता हुँदासमेत निष्कर्षमा पुग्न नसकेको बेला दुवै जनाले उम्मेद्वारी फिर्ता लिएको घोषणा गरेका हुन् । नेता सुवेदीका अनुसार पार्टीको वृहत्तर हितको लागी हिजो (बिहिबार) बिहानै दुवै जनाले उम्मेद्वारी फिर्ता लिएका हुन् । अहिले बिषम परिस्थिति भएकोले आन्तरिक प्रतिस्पर्धा नगरौं भन्ने चाहनाले आफुहरुले उम्मेदवारी फिर्ता लिएको उनले बताए । ‘पार्टीको हितको लागि सहमति होस् भनेर हिजो बिहानै वार्ता टोलीलाई हाम्रो उम्मेदवारी फिर्ता लिएको जानकारी गराइसकेका थियौ,’नेता सुवेदीले भने,‘अहिलेको परिस्थितिमा आन्तरिक प्रतिस्पर्धा नगरौं भन्ने हो ।’

क्षेत्र नं १ बाट एमाले महाधिवेशनमा ९ जना प्रतिनिधि सहभागी हुन पाउछन् । ती मध्ये ३ जना अनिवार्य महिला हुनुपर्छ । सुनसरी क्षेत्र १ मा एमालेको संस्थापन पक्ष र संस्थापन इतर समुहबाट पनि ९ ९ जनाले नै उम्मेदवारी दिएपछि प्रतिनिधि चयन हुन सकेको छैन । प्रतिनिधि चयनमा हिजो बिहानदेखि नै वार्ता भएपनि सहमति हुन नसकेपछि प्रतिनिधि चयन गर्ने जिम्मा जिल्ला कमिटीलाई दिने निर्णय दुवै पक्षले गरेको छ । 

नेता सुवेदी र नेतृ भण्डारीले महाधिवेशन प्रतिनिधिको लागी उम्मेदवारी दिएपछि एकै परिवारबाट उम्मेदावरी दिएको बारेमा चर्चा भएको थियो । सुवेदीले खुलातर्फ र श्रीमति भण्डारीले महिलातर्फ उम्मेदवारी दिएका थिए । उनीहरुको उम्मेदवारी परेपछि संस्थापन इतरका नेताहरुले श्रीमान श्रीमतिले नै उम्मेदवारी किन दिएको भन्ने चर्चा एवं आलोचना सार्वजनिकस्थलमा गर्न थालेका थिए । यद्यपी, संस्थापनका नेता कार्यकर्ताहरु दुवै जनाको अलगै राजनैतिक जीवन भएकोले दुवैको उम्मेदवारी स्वभाविक भएको जिकिर गर्छन् ।