धरान: नेपाली कांग्रेस सुनसरी क्षेत्र नं ३ को मतदान कार्यक्रम अनिश्चितकालसम्मको लागी स्थगित भएको छ ।

आज बिहान ९ बजेदेखि शुरु हुनुपर्ने मतदान कार्य विवादको कारण समयमा नै हुन सकेको थिएन । स्थानीय नेता, कार्यकर्ताहरुले मतदान शुरु गर्न माग गर्दै नाराबाजीसमेत गरेका थिए । दिउँसो मतदान अधिकृत देवनारायण यादवले एक सुचना प्रकाशित गर्दै अर्को सुचना प्रकाशित नभएसम्मको लागी मतदान कार्यलगायत अन्य निर्वाचन कार्यक्रमहरु स्थगन गरिएको जानकारी दिएका छन् ।

अधिकृत यादवका अनुसार मतदान कार्य शुरु गर्नुअघि गर्ने मुचुल्का गर्न तथा अन्य कार्यको लागी उम्मेदवार वा प्रतिनिधिहरु कोही पनि उपस्थित नभएकोले मतदान कार्य सुचारु गर्न नसकिएको हो । क्षेत्रीय सभापतिका उम्मेदवार मेहेदी हुसेनले मतदान अधिकृतले मतदान कार्य स्थगित गरेको सुचना जारी गरेको र नेताहरु विवाद मिलाउन छलफल गरिरहेको बताए । उनले भने,‘साथीहरुको गुनासो पनि छ, त्यसको पनि सम्बोधन गर्दै सल्लाह गरेर जानुपर्छ ।’ क्षेत्र नं ३ नेपाली कांग्रेसका नेता तथा उपसभापति विजयकुमार गच्छदारको क्षेत्र हो । यहाँ गच्छदारले आफ्नो पक्षीय उम्मेदवारलाई सहमतिमा नेतृत्वमा ल्याउन खोज्दा निर्वाचन कार्यतालिका नै प्रभावित हुन पुगेको छ । 

congress 7